२८ मंसिर , काठमाण्डौ।
मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । यता धावनमार्गसँग जोडिएका पूर्वाधार निर्माणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पुस १७ देखि ८ घन्टामात्रै बन्द हुने भएको छ ।
यसअघि कात्तिक २३ देखि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले फेब्रुअरी १ (पुस १७) गतेदेखि विमानस्थलमा राति १० बजेदेखि सुरु हुने निर्माण कार्यलाई ११ बजे सारिएको र बिहान ८ बजेसम्म हुने निर्माण कार्यलाई एक घन्टा छोट्याएर ७ बजेमा झारिएको बताए ।
‘अहिले भइरहेको पूर्वाधार विस्तारको प्रगति लक्ष्यभन्दा बढी देखिएकाले समय घटाइएको हो’, पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले भने । उनले बिहानको उडान समय ७ बजेमा ल्याइएकोमा पर्वतीय उडान लगायतका विदेशी उडान पनि हुने बताए ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टा विमानस्थल बन्द हुदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको दक्षिणपश्चिमतर्फ समानान्तर ट्याक्सीवे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारका लागि तेस्रो पटक उडान अवतरण नै बन्द गरेर क्षमता विस्तारको काम गरिएको छ ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम चैत १८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार काम पूरा गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने छ । अन्तर्राष्ट्रिय नियम अनुसार उडानका बेला विमानस्थल सञ्चालनका लागि धावनमार्गको दायाँबायाँ ७५ मिटर क्षेत्रमा कुनै खाल्डोलगायतका निर्माण कार्य चालु हुनुहुँदैन ।
त्यसैले राति खनिएको खाल्डो बिहान अस्थायी रूपमा पुरेर काम गरिदैछ । अहिले स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएका छन् । विमानस्थल सञ्चालनको समय छोट्याउँदा आन्तरिकतर्फ ३५ र अन्तर्राष्ट्रियतर्फ २९ प्रतिशत उडान कटौती भएका छन् ।
यसअघि २०७५ सालमा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झन्डै चार महिनसम्म विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । उक्त अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएका थिए ।
त्यस्तै २०७७ सालमा विमानस्थलको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो टु) धावनमार्ग विस्तार गरिएको थियो । त्यतिबेला बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।