३० मंसिर ,काठमाण्डौ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो ।
यो जितसँगै आठ अंक जोडेको काठमाडौंले प्लेअफ सम्भावनालाई कायम राखेकोछ । यद्यपि, काठमाडौंले अब प्लेअफमा स्थान सुरक्षित गर्न भने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुने खेलको नतिजा कुर्नुपर्नेछ ।
कर्णालीको पराजयले मात्रै काठमाडौंलाई प्लेअफमा पुर्याउने छ । आजको खेलमा काठमाडौंका प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रनको योगदान दिए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुईदुई विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रनमा समेटिएको थियो ।
विराटनगरलाई सस्तोमा समेट्न काठमाडौंका जेरार्ड एरास्मसले विकेट लिए । दीपेश कंडेलले २, करण केसी, शाहव आलम र डान सौथवैटले एकएक विकेट लिए । ब्याटिङमा विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए ।
२१ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए ।
कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे । आजको दोस्रो खेलमा अहिले पोखरा र सुदूर पश्चिम खेलिरहेका छन् भने समूह चरणको अन्तिम खेलमा भोलि कर्णाली र सुदूर पश्चिम भिड्नेछन् ।
जनकपुर, सुदूर पश्चिम र चितवन प्लेअफमा पुगिसकेका छन् भने अब कर्णाली र काठमाडौं मध्ये एक टोली प्लेअफमा पुग्नेछन् । प्लेअफका दुई खेल भने बुधबार हुनेछन् । विराटनगर, पोखरा र लुम्बिनीको प्लेअफ संभावना भने सकिसकेको छ ।