२ पुष ,एजेन्सी ।
रुसी लेफ्टिनेन्ट जर्नेल इगोर किरिलोव मस्कोमा मारिएका छन्। रुसको आणविक,जैविक, रासायनिक रक्षा फौजका प्रमुख रहेका उनको हत्याको जिम्मा युक्रेनले लिएको छ । किरिलोव र उनका एक सहयोगी अपार्टमेन्ट भवनबाट बाहिरिँदै गर्दा नजिकै राखिएको स्कुटर विस्फोट भएको थियो।
क्रेमलिनबाट ६.५ किमि टाढाको मस्कोको दक्षिणपूर्वी इलाकामा सो घटना भएको थियो। स्कुटरमा ३०० ग्राम टीएनटी बराबरको विस्फोटक पर्दार्थ राखिएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन्। रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विष्फोटक पदार्थले विस्फोट गराएको बताएका छन् ।
प्रवक्ताले भनेका छन्, “अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ । रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका छन्।”
पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ। बेलायतले अक्टोबरमा किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो। बेलायतले युक्रेनमा रासायनिक हतियारको प्रयोगलाई निगरानी गरेको र क्रेमलिनको गलत सूचनाका लागि महत्त्वपूर्ण मुखपत्रको रूपमा काम गरेको बताएको छ।
सोमबार युक्रेनको गुप्तचर एजेन्सी एसबीयूले पनि उनलाई आरोप लगाएको थियो र टेलिग्राममा प्रतिबन्धित रासायनिक हतियारको ठूलो मात्रामा प्रयोगका लागि उनी जिम्मेवार रहेको बताएको थियो।
मस्को प्रहरी र अनुसन्धानकर्ताहरूले उक्त घटनालाई पूर्वनियोजित हत्याको रूपमा वर्णन गरेका छन्। मस्कोको दक्षिणपूर्वमा रहेको आवासीय क्षेत्रमा विस्फोट भएको हो। विस्फोटमा जनरल किरिलोभ र उनका सहायकको मृत्यु भएको छ ।
रुसी अनुसन्धान समितिले यस घटनामा हत्याको मुद्दा दर्ता गरेको छ र अनुसन्धान द्रुत गतिमा अघि बढिरहेको बताएको छ । प्रहरीले क्यामेरा जफत गरेको छ र अभियुक्तको खोजी गरिरहेको बताएको छ ।
लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ ५४ वर्षका थिए। उनी रुसको आणविक, रासायनिक र जैविक रक्षा सेनाका प्रमुख थिए। उनी एक निडर र साहसी सैन्य अधिकारीका रूपमा परिचित थिए। जसले अमेरिकी र पश्चिमी देशहरूको कथित जैविक र रासायनिक हतियार परियोजनाहरू विरुद्ध धेरै सनसनीपूर्ण खुलासा गरेका छन्।
यसबाहेक, उनी अन्तर्राष्ट्रिय स्तरमा विवादास्पद तर प्रभावशाली व्यक्तित्व थिए।