Nepal Times
Nepal Times
3
Shares

नेपाल र भारतको खेलमा वर्षा बाधक, नेपाल समूह विजेता

नेपाल र भारतको खेलमा वर्षा बाधक, नेपाल समूह विजेता

२ पुष ,एजेन्सी ।

मलेसियामा जारी एसीसी यू–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेलमा वर्षा बाधक बनेको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो ।

वर्षा नरोकिएपछि नेपाल र भारतले एक–एक अंक बाडेका छन् । योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो । नेपालले अब समूह बी को विजेता श्रीलंकासँग बिहीबार खेल्नेछ । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् । अलिशाकुमारी यादवले आक्रामक ब्याटिङ गरिन् । उनले ९ बलमा अविजित २० रन जोडिन् । बलिङमा भारतकी पारुनिका सिशोडियाले सर्वाधिक ४ विकेट लिएकी थिइन् ।

लगातारको दोस्रो हारसहित पाकिस्तानले पाँचौं स्थानका लागि खेल्ने भएको छ । यता भारतले पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् ।

यसमा समूह ‘ए’मा बंगलादेश, मलेसिया र श्रीलंका छन भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् । टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।

यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा अटाएका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ। एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.