Nepal Times
Nepal Times
3
Shares

आरजु दोहोर्याएर किन दिल्ली पुगिन् ?

आरजु दोहोर्याएर किन दिल्ली पुगिन् ?

४ पुष, काठमाण्डौ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन् । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् । जहाँ उनको भेट भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्च स्तरीय नेताहरूसँग हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ‘वान टू वान’ भेटवार्ता हुने भनिएको थियो । तर विदेशमन्त्री जयशंकरको व्यस्तताका कारण दुईबीच छुट्टै भेटवार्ता हुने सम्भावना कम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यद्यपि अन्तिमसम्म पनि ‘वान टू वान’ वार्ताका लागि कोसिस गरिने बताइएको छ । परराष्ट्रमन्त्री राणाले बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।

परराष्ट्रमन्त्री राणाले लैङ्गिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेको हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरेकी थिइन् । साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरिन् ।

चीनसँगको परियोजना बीआरआई सम्झौतापछि परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि प्रत्यक्ष अप्रत्यक्ष रुपमा भारतले नेपाललाई बीआरआईमा आवद्ध हुन् रोक्ने प्रयास गरेको थियो ।

पछिल्लो समय अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले सम्झौताको पारदर्शीतामा प्रश्न उठाएपछि सरकारले बीआरआईका परियोजना र यसको फ्रेमवर्क सार्वजनिक गरिसकेको छ । यस्तै आरजुको दिल्ली दौडाहामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका विषयमा समेत पहल गर्ने संभावना रहेको छ ।

यसअघि मन्त्री आरजुले नै चीन भ्रमणपछि प्रधानमन्त्रीको भारत भ्रमण समेत हुने बताएकी थिइन । यसअघि प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमणका रुपमा भारतबाटै सुरु गर्ने योजना बनाएपनि भारतबाट निम्तो नआएपछि उनले चीनको भ्रमण गरेका छन् ।

आरजुले दिल्लीमा रहँदा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कोसिस गर्ने स्रोतले जनाएको छ । यसअघि मन्त्री आरजुले गएको भदौमा दिल्लीको भ्रमण गरेकी थिइन । सो क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.