५ पुष , एजेन्सी ।
महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । शुक्रबार मलेसियामा भएको खेलमा नेपाल बङ्गलादेशसँग ९ विकेटले पराजित भएको हो । यससँगै फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ ।
विजयी बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ । वर्षाले प्रभावित भएपछि ११ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ५५ रनको सामान्य लक्ष्य बङ्गलादेशले ९.५ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो ।
बङ्गलादेशका लागि फाहोमिदा चोयाले २६ रन बनाइन् । नेपालका लागि कुशुम गोदारले एक विकेट लिइन् । यसअघि वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ५४ रन बनाएको थियो ।
नेपालका लागि सावित्री धामीले ११, कप्तान पूजा महतोले ९, एलिसाकुमारी यादवले ८ र ओपनर सना प्रविनले ४ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालका तीन खेलाडी रनआउट भएका छन् ।
जसमा सना, सावित्री र सोनी पाख्रिन छन् । यो हारले नेपाल महिला यू–१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ भने यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ । अब उपाधिका लागि बंगलादेश र भारतबीच आइतबार खेल हुने छ ।
यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक÷एक अङ्क बाँडेका थिए। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो।
यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए। तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।
गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन्। यसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन्।
एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो । यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।