१३ पुष , काठमाण्डौ ।
नेपालमा हाल पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव कायम छ । जसले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँहरूमा गएरातिदेखि पानी परिरहेको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरूमा हल्का हिमपात पनि भइरहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विभाग, पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ ।
आज पनि सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरूका साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै ठाउँहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरू तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक÷दुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावका कारण सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।
सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा राति पनि हल्का वर्षाको सम्भावना रहनेछ ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
भोलि दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । पानी पर्न रोकिएपछि चिसो झनै बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।