रावललाई पन्छ्याए, ओलीलाई अब कसको छ चुनौती ?

१३ पुस ८१, शनिबार
Share this
708shares

१३ पुष , काठमाण्डौ।

Advertisement

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावल अब के गर्लान ? कुनै अर्को पार्टीमा प्रवेश गर्लान् कि नयाँ पार्टी खोल्लान् ? वा उनलाई एमालेमै फर्काउन कुनै प्रयास होला ? अहिले धेरैलाई यो जिज्ञासा लागिरहेको छ । हुनत रावलले केही दिनभित्रै पत्रकार सम्मेलन गर्दैछन् ।

त्यसक्रममा आफ्ना भावी योजना बताउँने वा त्यसको छनक त दिने नै छन् । साथै उनले पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्ने र उनको भण्डाफोर गर्ने पनि बताएका छन् ।

Advertisement

पार्टीबाट निस्कासित भएपछि फेसबुकमा उनले लेखेका छन्, के.पी. गुटको स्वेचछाचारी निर्णयको सर्वत्र विरोध हुन्छ । यस्तै सम्भवतः नयाँ पार्टी गठन गर्नका लागि उनले एमालेमा रहेका आफ्ना समर्थक, नेताकार्यकर्तालाई अपिल पनि गरेका छन् ।

पत्रकार सम्मेलनपछि देश दौडाहाको मुख्य उद्देश्य पनि नयाँ पार्टी बनाउनु रहको आँकलन गरिएको छ । दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले बुधबारको सचिवालय बैठकबाट रावललाई निस्कासन गरेको हो ।

Advertisement

यसैबीच एमालेका सचिव योगेशकुमार भट्टराईले पार्टीबाट निकालिएका नेता रावललाई अध्यक्ष केपी शर्मा ओलीसमक्ष आएर सुलह गर्न सुझाव दिएका छन् । एक अन्तर्वार्तामा भट्टराईले कारबाहीमा परेका रावलसहित तीनै नेतालाई पार्टी नेतृत्वसँग सम्झौता गर्न सल्लाह दिएका हुन् ।

‘म त भीम रावललाई दाइ नै भन्छु, दाइलाई मेरो भनाइ के छ भने तपाईंको निम्ति यो निर्णय अप्रिय होला, अरू पनि कतिपयलाई अप्रिय लागेको होला, एकपल्ट आफैँलाई पनि पुनर्विचार गरेर पार्टी नेतृत्वसँग आएर ‘सुलह’ गर्नु, सुलह भनेको कुनै आत्मसमर्पण गर्नुस् भनेको होइन कि आफ्ना कुराहरू पार्टी नेतृत्वसँग राखेर पार्टीको निर्णय र निर्देशनमा बसेर काम गर्दै जानुस्’, भट्टराईले भनेका छन्, ‘किनभने हाम्रो पार्टीमा भीम रावल दाइ एउटा पुरानो मान्छे हो, बुझेको मान्छे हो । भोलि पनि यो पार्टीको नेतृत्व गर्ने क्षमता राख्ने मान्छे हो । त्यसैले उहाँको जत्तिको मान्छेलाई गुमाउन हामी पनि चाहँदैनौँ। पार्टीले पनि चाहँदैन ।

एमाले सचिवले यस्तो कुरा भनेपनि रावल एमाले अध्यक्षकै जोडबलमा बुधबार एमाले सदस्यताबाटै निष्कासनमा परेका हुन् । त्यसो हुँदा उनी फर्किने गुञ्जायस छैन भन्दा फरक पर्दैन । रावलको मुख्य दोष भनेकै उनले दसौँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई चुनौती दिएका थिए ।

त्यसअघि र पछि पनि चाहे एमाले होस् वा तत्कालिन नेकपामा कहिले केपी शर्मा ओली पक्ष त कहिले माधव नेपालनिकट कित्तामा रहेका रावल राजनीतिको उत्तरार्धमा भने यता न उताका भएका छन् । उनी बढी त ओलीको उत्पीडनमा परेका हुन् ।

पार्टीबाट रावलको निष्कासनमार्फत् ओलीले एमालेमा आफूविरुद्ध प्रतिस्पर्धा वर्जित छ भन्ने प्रष्ट संकेत दिएका छन् । यसबाहेक भविष्यमा चुनौतीको सम्भावना रहेकालाई पनि ओलीले एमालेमा स्थान दिने छैनन् भन्ने यसले संदेश दिएको छ ।

यसमा अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो महिना राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्ताबाट पनि यसको अन्दाज लगाउन सकिन्छ । त्यो अन्तर्वार्तामा पौडेलले ‘आगामी महाधिवेशनबाट ओली निर्विरोध अध्यक्ष निर्वाचित हुन्छन्’ भन्ने दाबी गरेका छन् ।

खासमा पौडेल एमालेभित्र वाम एकता पक्षधर नेताका रूपमा चिनिन्छन्। ‘वाम एकता’को वातावरण निर्माण गर्न पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन उनी प्रयत्नरत रहेको चर्चा एमालेभित्र चल्दै आएको थियो ।

एमालेको ‘आजीवन अध्यक्ष’ बन्ने योजनामा रहेका ओलीलाई भण्डारीलाई सक्रिय राजनीतिमा ल्याइने प्रयास सह्य हुने विषय थिएन । ओलीलाई सह्य नहुने कुरा गरेर अहिलेको एमालेमा कोही पनि टिक्न सक्दैन । खासमा ओलीको कोपभाजनबाट जोगिन ‘ओली नै निर्विकल्प अध्यक्ष हुन्’ भनिदिनुपर्ने स्थिति छ ।

जुन कुरा पौडेलले गरे । यद्यपि, रावललाई निष्कासन गरेर ओलीले एघारौँ महाधिवेशनको सम्भावित एक चुनौतीलाई त पन्छाए तर अर्काे चुनौती बाँकी नै छन् । ती चुनौती हुन् स्वयं पूर्वराष्ट्रपति विद्या भण्डारी ।

खासमा ओलीको ‘सम्मति’ मा मात्र सक्रिय पार्टी राजनीतिमा फर्कने पक्षमा छन् भण्डारी । यति हुँदाहुँदै पनि ओली भयभीत छन् । संगठन विभागले २९–३० मंसिरमा आयोजना गरेको कार्यशालामा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने प्रयास नगर्न नेता–कार्यकर्ताहरूलाई दिइएको चेतावनी यसैको उपज हो ।

रावलमाथि कारबाही गरेर ओलीले ‘एमालेमा रहने हो भने मेरो आलोचना गर्न पाइन्न’ भन्ने सन्देश दिएका छन् । पाण्डे–तिम्सेनामाथिको कारबाहीको सन्देश चाहिँ ‘पार्टीको इज्जत र प्रतिष्ठा जोगाउने नाममा मेरो चाहनामा भएका निर्णयको आलोचना वर्जित छ, सुझावहरू पनि वर्जित छन्’ भन्ने हो । सारमा भन्ने हो भने ओेलीलाई कुनै पनि हिसाबले चुनौती दिनेहरूलाई एमालेमा स्थान छैन भन्ने नै हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top