१६ पुष , विराटनगर।
सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका दुई स्थानमा शंकास्पद वस्तु फेला परेपछि स्थानी त्रसित बनेका छन् । उपमहानगर कार्यालयअगाडिको पसल र बुढीखोला पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु बम नभएर कुकर रहेको पुष्टि भएको छ। शंकास्पद कालो झोलामा राखिएको कुकरमा राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा रहेको प्रहरीले जनाएको छ ।
स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको सुनसरी प्रहरीले जनाएको छ। बिहान इटहरी उप महानगरपालिका अगाडी शङ्कास्पद बस्तु फेला परेको थियो ।
यस्तै सुनसरी र मोरङ जोड्ने बुढी खोलाको पुलमुनि समेत शङ्कास्पद झोला फेला परेको थियो । शङ्कास्पद बस्तु फेला परेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, उपमहानगर कार्यालयअगाडिको शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली पुगेको थियो ।
त्यसलाई केही बेरअघि निष्क्रिय बनाइएको छ । बुढीखोला पुलमा शंकास्पद वस्तु के भन्नेबारे जाँच भइरहेको बताइएको छ । मंगलबार बिहान इलाका प्रहरी कार्यालय इटहरी र पकलीमा राजावादी समूहका नाममा भोटेपुल, बुढीखोला र उपमहानगरपालिकाअगाडि कालो झोलामा बम राखिएको सूचना पाएको प्रहरीले जनाएको छ ।
त्यसानुसारको कालो झोला भने उपमहानगरको कार्यालयअगाडि मात्र भेटिएको थियो । बुढीखोला पुलमुनि एउटा बोरा भेटिएको र त्यो शंकास्पद वस्तु भए÷नभएको विषयमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।