१६ पुष , काठमाण्डौ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा आज थुनछेक बहस सुरु हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेसमेत जोडिएको यो प्रकरणमा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको छ ।
हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जनाएको छ । लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो ।
आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने स्रेस्तेदार राजन खनालले बताएका छन् । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।
प्रतिवादीहरू सबैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । बयानका लागि समेत एक हप्ता बढी समय लागेको अवस्थामा थुनछेक बहस झनै लामो हुने अनुमान गरिएको छ । सरकारका तर्फबाट सरकारी वकिलको बहस पछि जाहेरीकर्ता समेत एक हजारभन्दा बढी भएको र उनीहरुका तर्फबाट समेत बहस हुने भएकाले यो थुनछेक बहस लामो हुने अनुमान गरिएको छ।
यस्तै वरिष्ठ अधिवक्ताहरु शुशील पन्त, शम्भु थापा लगायतले प्रतिवादीका तर्फबाट बहस गर्ने भनिएको छ । हाई प्रोफाइल केस भएका कारण पनि अधिवक्ताहरुले समेत बहसमा रुचि देखाएको भनिएको छ ।
थुनछेक बहसपछि अदालतले संभवत तनि आदेशहरु धरौटीमा रिहा, साधारण तारिखमा रिहा र र्पूपक्षका लागि थुनामा पठाउने आदेश दिन सक्ने कानूनीजानकारहरुले बताएका छन् । कास्कीको अदालती प्रक्रिया टुंगिएपछि रवि छवि लगायतलाई अन्य जिल्ला अदालतमा समेत मुद्धा दर्ता भए त्याहा समेत पुर्याउनु पर्नेछ ।
प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ । लामिछानेसहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न माग दाबी लिनुपर्ने राय दिएको थियो ।
रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।