१७ पुष , काठमाण्डौ।
पार्टी र पार्टी नेतृत्वविरुद्ध पटक पटक वैचारिक रुपमा तल्लोस्तरको आक्रमण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने आवाज उठेको छ ।
कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र नै पठाएका छन् । ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका छन् ।
तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् । ‘राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु ।
यसर्थ, पार्टीमा डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ तिम्सिनाले पत्रमा लेखेका छन् । ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको मधेशका महामन्त्री यादवले लेखेका छन् । रास्वपा हाल सबैभन्दा ठूलो संकटको घडीमा रहेको यादवले लेखेका छन् ।
‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्योभन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ । कसैसँग रिस, राग, द्वेष र अनुराग नराखिकन एक आपसका सबै तुष सबै पक्षबाट त्यागौं र संकटको यो घडी फुटेर होइन जुटेर सामना गरौं,’ यादवले लेखेको पत्रमा भनिएको छ ।
उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन् ‚‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।’
निवेदनमा उनीहरूले पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद भएको भन्दै पार्टीको यो घडीमा सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । ‘त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन् । सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु‚’ निवेदनमा लेखिएको छ ।
रास्वपाले संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा हटाएको थियो । त्यसअघि उनलाई पटक पटक आत्मालोचनासहितको अवसर दिइएको थियो ।
तर कारबाही अघि सोधिएको स्पष्टीकरणमा पनि उनी पार्टी नेतृत्वविरुद्ध नै खनिएका थिए । पार्टीबाट निष्कासन गर्नु अघि र पछि मुकुलले पार्टीका तत्कालीन सभापति रवि लामिछानेसहित उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेलाई विभिन्न आरोप लगाएका थिए ।
उनले रास्वपालाई रविको क्लबको रुपमा टिप्पणी गर्दै आफुले त्यसलाई रविको गुटबाट मुक्त गरिछाड्ने बताउँदै आएका छन् । रविविरुद्ध सहकारीको प्रकरणमा विभिन्न आरोप लाग्दादेखि नै उनले रवि जेलसम्म जाने घोषणा गरेका थिए ।
पछिल्लो समय भने उनी यस विषयमा मौन देखिएका छन् । रविमाथि अहिले कास्की अदालतमा सहकारी प्रकरणसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा विचाराधीन छ । उनी सांसदबाट निलम्बामा परेका छन् भने पार्टी नेतृत्व डीपी अर्याललाई दिइएको छ ।