Nepal Times
Nepal Times
3
Shares

पूर्वराजाको सन्देश, सुनको कमण्डलुमा भिख,देशको चिन्तैचिन्ता

पूर्वराजाको सन्देश, सुनको कमण्डलुमा भिख,देशको चिन्तैचिन्ता

२६ पुष, एजेन्सी ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालमा भूराजनीतिक परिस्थिती जटिल बन्दै गएको भन्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् ।

जारी वक्तव्यमा उनले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको उल्लेख गरेका छन् । ‘ समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो ।’

नेपालीहरूले आफ्नो क्षमता चिन्न नसकेको पूर्वराजा शाहको भनाइ छ । पृथ्वीनारायणले दिव्योपदेशमा बताएका विषय लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘राष्ट्रनिर्माता’का मार्गदर्शनलाई आत्मसात् गर्न सके नेपाललाई कसैले केही गर्न नसक्ने उनको दाबी छ ।

पूर्वराजा शाहले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन् । ‘हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ,’ उनले भनेका छन् ।

दिव्योउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भए पनि पछिल्लो समय नेपालीहरू विदेशीबाट सिर्जित वादमा गइरहेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘अहिले देशका दाजुभाइ दिदीबहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्रब्यूमा फसिरहेका हुन्, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेलामा आएको छ । विश्वराजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो । तर, जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ ।’

देशलाई प्रविधिको पथमा अगाडि बढाएर सबै देशवासीलाई सुखी र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उनको भनाइ छ । उनले भने, ‘विरता, स्वाधीनता र गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ। सोचनिय बिषय छ। प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्धति हो। स्वतन्त्रता केवल निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन । आम नागरिकको सुरक्षा, न्याय, गाँस, बास, कपास शिक्षा र रोजगारीको सुनिश्चितासहितको स्वतन्त्रलाई मात्रै हामी पूर्ण स्वतन्त्रता मान्न सक्दछौं ।’

उनले पूर्ण प्रजातन्त्र अहिले पनि पूरा हुन नसकेको बताएका छन् । पुस २७ गते नेपालमा पृथ्वी जयन्ती मनाइन्छ, जुन राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती हो । पृथ्वी नारायण शाहलाई नेपाल एकीकरणका अभियन्ताका रूपमा सम्मान गरिन्छ ।

उनले नेपालका विभिन्न साना–साना बाईसे चौबीसे राज्यहरूलाई एकीकृत गरी आधुनिक नेपाल स्थापना गरेका थिए। राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन विशेष कार्यक्रम गर्दै आएको छ ।

राप्रपाका अध्यक्ष लिङ्देनले यस वर्षको कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् । राप्रपाले हरेक वर्ष जस्तै यस वर्षपनि पुस २७ गते पृथ्वी जयन्तीलाई उत्सवका रूपमा मनाउँदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.