२७ पुष , काठमाण्डौ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।
यस्तै पृथ्वी जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पृथ्वी नारायण शाहप्रति उच्च सम्मान प्रकट गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली नेपाल एकीकरणका नेतृत्वकर्ता भन्दै पृथ्वीनारायणप्रति सम्मान व्यक्त गरेका हुन्।
‘नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको आज जन्मजयन्ती’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्वीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको पर्वाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु।’
पूर्वराजा ज्ञानेन्द्र शाहले भने हिजै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियोमार्पmत शुभकामना सन्देश जारी गरेका थिए । उनले नेपालमा भूराजनीतिक परिस्थिती जटिल बन्दै गएको भन्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् ।
पृथ्वीनारायणले दिव्योपदेशमा बताएका विषय लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘राष्ट्रनिर्माता’का मार्गदर्शनलाई आत्मसात् गर्न सके नेपाललाई कसैले केही गर्न नसक्ने उनको दाबी छ । पूर्वराजा शाहले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन् ।
दिव्योउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भए पनि पछिल्लो समय नेपालीहरू विदेशीबाट सिर्जित वादमा गइरहेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।
विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।
आज राप्रपाले विशेष समारोहको आयोजना गरेको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा श्रष्टाहरुले पनि कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गरेका छन् । चद्रागिरीमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसामु उभिएर उनीहरुले राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गरेका हुन् ।
श्रष्टाहरुले राष्ट्रनिर्माताप्रति राज्यले नै अन्याय गरेको भन्दै राष्ट्र निर्माता र राष्ट्रिय एकता दिवशप्रति राज्यले गौरवबोध गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कविहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी,राजेन्द्र शलभ, शंकर कोईराला, प्रभा भट्टराई,नवराज लम्साल,मणि लोहनी र एलिशा ढुंगानाले पृथ्वीनारायण शाहप्रति लेखिएका कविता वाचन गरेका थिए ।
पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक महत्व राख्ने चन्द्रागिरीमा उनको शालिक राखिएको हो । नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाहले मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरीको बाटो हुँदै गरेको इतिहासमा उल्लेख छ ।
२०७४ असोज ८ गते भालेश्वर मन्दिर परिसरमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना गरिएको थियो ।पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।