११ माघ , काठमाण्डौ।
हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।
साथै तराईका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमशः त्यो हराउँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताए ।
काठमाडौं उपत्यकाको तापक्रम पनि क्रमशः वृद्धि हुन थालेको छ । बिहीबार बिहान यहाँकोको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएकोमा आज (शुक्रबार) बिहान त्यो कायम छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । आगामी २४ घण्टामा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सु र शीतलहरको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
निरन्तर बाक्लो हुस्सु र तुुसारो लागेपछि मोरङ, सुनसरी, धनुषा, महोत्तरी लगायतका तराई–मधेसको जनजीवन कष्टकर बनेको छ । धनुषा, महोत्तरीमा करिब एक सातादेखि घाम लाग्न सकेको छैन ।
रातदिन निरन्तर बाक्लो हुस्सु लागेर तुसारो पर्दा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको छ । अत्यावश्यक काममा निस्किएकाहरु तुसारोले निथ्रुक्कै भिज्ने अवस्था रहेको छ । कठ्याङ्ग्रिने चिसोले विद्यालय जाने बालबालिका, कर्मचारी, किसान, मजदुरलगायत प्रभावित बनेका छन् ।
बाक्लो हुस्सु र तुुसारोमा बालबालिका कठ्याङ्ग्रिँदै विद्यालय जान बाध्य छन् ।चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् । अत्यधिक चिसो बढेपछि व्यापार व्यवसाय प्रभावित भएको स्थानीयले बताएका छन् ।
बाक्लो हुस्सु र तुसारोका कारण पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा सवारीसाधन दिउँसोसमेत बत्ती बालेर गुड्ने गरेका छन् ।