१४ माघ ,काठमाण्डौ।
कृषिप्रधान भनिएता पनि नेपालमा कृषिजन्य कर्म गर्न र त्यसबाट आम्दानी लिन एउटा किसानलाई जति गारो छ, यही पेशामा लागिरहँदा अब त किसानलाई आफ्नो ज्यान नै जोगाउन पनि सकस हुन थालेको छ ।
खासगरी पशुपालक किसानहरुलाई । जंगल छेउछाउमा रहेका पशुपालक किसानहरु आफ्ना बस्तुभाउलाई घाँसदाउरा गर्न बन जाने गरेका छन् । तर बनबाट उनीहरु सकुशल आउँछन् वा आउँदैनन् भन्ने चिन्ता दिनहुँ बढ्दै गएको छ ।
किसानमात्रै होइन बनजंगल छेउमा भएका बस्तीका अन्यलाई पनि ज्यानको जोखिम बढेको छ । यसको कारण हो जंगली जनावरको आक्रमण । त्यसमा पनि विशेषगरी बाघको आक्रमण । नेपालमा जंगलले ओगटेको क्षेत्रको तुलनामा बाघको संख्या धेरै भइसकेको र यसलाई नियन्त्रण गर्न आवस्यक परेको स्वयं प्रधानमन्त्रीले स्वीकारेका छन् ।
यसका बावजुद, नेपालीहरु अझै बाघको आक्रमणमा परिरहेका छन् । आइतबार रातीमात्रै पनि कैलालीमा छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघले आक्रमण गरेको छ ।जिल्लाको मोहन्याल गाउँपालिका–७ कुइनेमा आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले घाइते बनाएको हो ।
छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भागेको थियो । उनी सामान्य घाइते छिन् । यसअघि पुस १४ गते साँझ पनि काठमाडौं उपत्यकाको छिमेकी जिल्ला मकवानपुरमा बाघको आक्रमणमा एक वृद्धाको ज्यान गएको थियो ।
घर नजिकै घाँस काट्न गएका बेला उनी बाघको आक्रमणमा परेकी हुन् । उक्त घटना भएको १२ घण्टा बित्दा नबित्दै भोलिपल्ट बिहान त्यहीँ नजिक सूर्यबहादुर मोक्तानको खोरमा रहेका सातवटा बाख्रा बाघले मारिदियो ।
यस्तै साउन १७ गते कञ्चनपुरको दोधारा चाँदनी २ मा बाघको आक्रमणबाट २३ वर्षीया एक महिलाको मृत्यु भएको थियो । घर नजिकै धान खेतमा घाँस काटिरहेका बेला उनीमाथि बाघले आक्रमण गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार बाघको आक्रमणमा परेर नेपालमा पछिल्लो पाँच वर्षमा ६५ जना मानिसले ज्यान गुमाउनु परेको छ । सबैभन्दा धेरै आर्थिक वर्ष २०७८÷७९ मा २१ जनाको मृत्यु भएको थियो ।
सन् २०२२ को गणना अनुसार देशमा रहेका कूल ३५५ वटा बाघहरूमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा छन् । सन् २०१० मा रुसमा भएको विश्व बाघ सम्मेलनमा नेपाल सरकारले त्यस बेला देशमा एक सय २१ वटा रहेको बाघको सङ्ख्या सन् २०२२ सम्म दोबर बनाउने घोषणा गरेको हो ।
नेपालको त्यो लक्ष्यप्रति यसअघि पनि प्रधानमन्त्री छँदा केपी शर्मा ओलीले पनि प्रतिबद्धता जनाएका थिए । तर अहिले भने उनै ओलीले बाघ नियन्त्रण गर्न आवस्यक रहेको बताउन थालेका छन्। गत पुस ११ गते प्रधानमन्त्री ओलीले ’मान्छे खुवाएर बाघ पाल्न नसकिने’ अभिव्यक्ति दिएका थिए ।
अहिले प्रधानमन्त्री ओली बढेको बाघको सङ्ख्याप्रति असन्तुष्ट छन् । उनले बाघको सङ्ख्या घटाउन वा नियन्त्रण गर्न विभिन्न देशहरूलाई उपहार दिन सकिने उपाय सुझाएका छन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि कतिपय देशबाट बाघ लिने इच्छा प्रकट भएको बुझिएको छ ।
उनीहरूले कानुनी र नीतिगत प्रक्रियाबारे चासो राखेका छन् । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिसम्बन्धी नेपालको कानुनमा’ सरकारले एक आर्थिक वर्षमा एक जोडीसम्म कुनै प्रजातिको सङ्कटापन्न वन्यजन्तु वा सोको नमुना नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकको रूपमा उपहार उपलब्ध गराउन सकिने’ व्यवस्था छ ।
उक्त कानुनमा ’अध्ययन, संरक्षण शिक्षा वा अनुसन्धानको प्रयोजनका लागि’ त्यसो गर्न सकिने सर्त छ । सन् १९८५ देखि २०१८ सम्मको विवरणअनुसार नेपालले २६ वटा एक सिङे गैँडा भारत, चीन, जर्मनी, युके, अमेरिका, बाङ्ग्लादेश, अस्ट्रिया, र जापानलाई उपहार दिएको छ ।
त्यस्तै विभिन्न देश र संस्थालाई गोही, ब्वाँसो र चितुवा पनि उपहार दिइएको छ । बाघ भने उपहार दिइएको छैन । यसैबीच उता बाघ लोप भएको भनिएको क्याम्बोडियामा फेरि पुनस्र्थापित गर्ने पहल भइरहेको छ ।
काजाकस्तानले त्यहाँ लोप भएका अमुर प्रजातिका बाघ केही महिनाअघि नेदरल्यान्डस्बाट लगेको छ । विदेशमा भएका त्यस्ता अभ्यास र कानूनी आधारमा नै नेपाल सरकारले चाहेमा मित्र राष्ट्रलाई बाघ उपहार दिन सकिने सम्भावना रहेको छ ।