१५ माघ , एजेन्सी ।
ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् । नेयमार र साउदी क्लब हिलालले सोमवार आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् । ‘नेयमारले अल–हिलालमा रहँदा गरेका योगदानका लागि धन्यवाद र प्रशंसा व्यक्त गर्दछ ।
खेलाडीको करियरको आगामी दिनको सफलताको कामना गर्दछ,’ क्लबले भनेको छ । नेयमार सन् २०२३ को अगष्टमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट ९० मिलियन युरोमा अल हिलालमा अनुबन्धित भएका थिए ।
ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका ३२ वर्षीय नेयमार घुँडाको समस्या कारण अक्टोबर २०२३ देखि लगातार मैदानबाट बाहिर छन् । नेयमारले चोटका कारण दुई वर्ष अल हिलालमा रहँदा क्लबका लागि सात पटक मात्र खेलेका छन् ।
नेयमार अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान गरिएको छ । सन् २०१३ पछि बाल्यकालको क्लब सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । बार्सिलोना जानुअघि नेयमारले सान्तोषमा रहेर २ सय २५ खेलमा १ सय ३६ गोल गरेका थिए ।
उनले ब्राजिलको राष्ट्रिय टोलीबाट ७९ गोल गरिसकेका छन् । सन् २०१७ मा २२२ मिलियन युरोपमा पिएसजी पुगेका हुन् । अल हिलालसँग २ वर्षको सम्झौताबाट नेयमारले करिब १६ करोड युरोभन्दा बढी कमाइ गरेको अनुमान गरिएको छ ।
पीएसजीमा रहँदा नेयमारले १७३ खेल खेले भने क्लबलाई १३ वटा उपाधि दिलाए । जसमा ५ वटा लिग वान छन् । उनकै प्रदर्शनमा पीएसजी सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा पुगे पनि उपविजेतामै सीमित भएको थियो ।
उनले सन् २०२२ को कतार विश्वकपमा ब्राजिलका तर्फबाट २ खेल गुमाएका थिए । खुट्टामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए । आफ्नो दायाँ खुट्टाको लिगामेन्ट च्यातिएपछि उनले सन् २०१९ को कोपा अमेरिका पनि गुमाएका थिए ।
सन् २०२१ मा पनि चोटका कारण उनी केही हप्ता मैदानबाट बाहिरिएका थिए । करिम बेन्जेमा, एन’गोलो कान्टे, जोर्डन हेन्डरसन, रुबेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनोजस्ता साउदी अरब गएका छन् ।
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट अल–नासरमा आवद्ध छन् ।