काठमाडौँ,असोज १२
रेखा फिल्मस्को ब्यानरमा निर्मित फिल्म ‘मालिका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच शुक्रवार टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
अभिनेत्री रेखा थापा निर्देशित तथा अभिनीत चलचित्रको ट्रेलरमा रेखा र डेब्यु गर्ल कमला वली हाबी छन् । ट्रेलरमा एक नारीको सशक्त र कमजोर दुई रुप देखाउन खोजिएको छ । ट्रेलर रेखाको एक्सन र डाइलगबाट भरिपूर्ण छ ।
रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको कृष्ण नवमी अर्थात् कात्तिक १६ गते रिलिज हुँदैछ । शिवम अधिकारीको पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।
नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् । यसअघि सार्वजनिक भएको ‘मालिका’ का ‘हल्का माया’ बोलको गीत अहिले चर्चामा छ ।