१७ माघ, विराटनगर।
त्रिदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । टियु रंगशालामा आज भएको खेलमा नेपाल नेदरल्यान्डससँग २० रनले पराजित भएको हो । नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा १३७ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि सीता राना मगरले सर्वाधिक २८ रन बनाइन् । त्यस्तै कविता जोशीले २७, पूजा महतोले २४ र रुविना क्षेत्रीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरको खेलमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि रोविने रिज्केले अविजित ५९ रन बनाइन् । त्यस्तै स्टेरी कालिसले २९, हिदर सिजर्सले २३ र इरिस ज्विलिङले अविजित ३१ रन बनाइन् । नेपालले अर्को खेल थाइल्यान्डसँग खेल्नेछ ।घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेलिरहेको हो ।
यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो । सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । महिला टि ट्वान्टी आई वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३ औं रनेदरल्याण्ड्स १६औं स्थानमा छ ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेदरल्याण्ड्सले दोस्रो खेलमा शुक्रवार थाइल्याण्डसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग खेल्नेछ ।