धरानको खानेपानीमा २२ करोड भ्रष्टचार, मिन विश्वकर्मा जोडिए

२४ माघ ८१, शुक्रबार

२५ माघ , विराटनगर ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी परियोजनामा २२ करोड रुपैयाँ हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेका छन्। उनका अनुसार, धरानको खानेपानी सुधारका लागि एशियाली विकास बैंक एडीबीबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिइएको थियो, तर त्यसमध्ये १ अर्ब २८ करोड मात्र खर्च गरिएको देखिएको छ।

बाँकी रकम अनियमित रूपमा प्रयोग गरिएको भन्दै उनले अख्तियारसँग छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। हर्क साम्पाङले भ्रष्टाचार प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिन विश्वकर्मासमेत जोडिएको संकेत गरेका छन्।

Advertisement

एक टेलिभिजन अन्तर्वार्तामा नेता विश्वकर्माले १ अर्ब ५० करोड ऋण लिएको स्वीकारे पनि खर्च विवरण स्पष्ट रूपमा उल्लेख नगरेको हर्कको दाबी छ। उनले अख्तियारलाई पठाएको पत्रमा २१ करोड ९३ लाख २४ हजार रुपैयाँको हिनामिना भएको उल्लेख छ।

उनले पत्रमा ऋण र अनुदान जोडेर १ अर्ब २८ करोड ६ लाख ७५ हजार मात्रै खर्च गरिएको भन्दै २१ करोड ९३ लाखको हिसाबकिताब उपमहानगरपालिकासँग नरहेको बताएका छन् । यदि सो रकम खानेपानी आयोजनामै खर्च भएको भए त्यसको पारदर्शी हिसाब सार्वजनिक गर्नुपर्ने हर्कको तर्क छ।

Advertisement

यसअघि धरानकै खानेपानी अनियमितता प्रकरणमा मेयर हर्क साम्पाङविरुद्ध पनि अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियारले उनलाई पत्र काटेको थियो। तर, हर्कले त्यसको जवाफमा उल्टै अख्तियारलाई नै प्रश्न गर्दै सत्यतथ्य बाहिर ल्याउन चुनौती दिएका छन्।

हर्क साम्पाङ धरानमा खानेपानी सुधार अभियानका लागि चर्चित छन्। उनले धरानमा पानी अभाव हटाउने भन्दै विभिन्न ठाउँबाट पानी ल्याउन पहल गरेका छन्। तर, खानेपानीकै बजेटमा भएको भनिएको अनियमितताबारे उनले उठाएको प्रश्न अहिले चर्चाको विषय बनेको छ।

केही साता अघि मात्रै उनी खानेपानी आयोजननाका लागि बजेट माग गर्न रित्तो गाग्रीसहित काठमाडौं पुगेका थिए । उनले खानेपानी मन्त्री र अर्थमन्त्रीलाई भेटेर धरानेजनताका लागि खानेपानी आयोजना माग गरेका छन् ।

मेयर हर्क साम्पाङका आलोचकहरू भने उनीमाथि नै भ्रष्टाचारको आरोप लागिरहेको बेला अरूमाथि औंलो ठड्याएर दोष पन्छाउने प्रयास गरेको आरोप लगाइरहेका छन्। अर्कोतर्फ, उनका समर्थकहरू भने खानेपानी परियोजनामा भएको भनिएको घोटालाको सत्यतथ्य बाहिर ल्याउन अख्तियारले छिटो अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन्।

यो प्रकरणले धरानको राजनीतिलाई मात्र होइन, नेपालभरको खानेपानी आयोजनाहरूमा हुने भ्रष्टाचारप्रति पनि गम्भीर प्रश्न उठाएको छ। अब हेर्न बाँकी छ, अख्तियारले हर्कको उजुरीलाई कत्तिको गम्भीर रूपमा लिन्छ र २२ करोड रुपैयाँ हिनामिनाको वास्तविकता बाहिर ल्याउँछ कि ल्याउँदैन!

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top