अर्थमन्त्री डिस्चार्ज, मेयर केही दिन अस्पतालमै रहने

४ फागुन ८१, सोमबार

५ फागुन , काठमाण्डौ।

Advertisement

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भई कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घर फर्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका उनी आज ‘डिस्चार्ज’ भएका हुन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने स्वास्थ्य अवस्था सामान्य हुँदै गएको यद्यपि उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । ’दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन ।

Advertisement

 

यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ’, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ’मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।’

Advertisement

सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ । शनिबार पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पा आगोको झिल्कोमा परी विष्फोट हुँदा प्रमुख अतिथि पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

उनीहरुलाई सोही दिन नै हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याई भर्ना गरिएको थियो । उनीहरुको उपचार चलिरहँदा अस्पतालमा पार्टीगत नेता, मन्त्री र उच्चपदस्थ्य व्यक्तिको घुइँचो लागेको थियो ।

आइतबार बिहानै राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायत पुगेका थिए । भीईआईपीहरू अस्पताल आउने क्रम बढेसँगै अस्पताल प्रशासनले संक्रमण बढ्ने जोखिम भएकाले भेटघाट गर्न बन्द ग¥यो ।

यद्यपि आइतबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली, पत्नि राधिका शाक्यसहित सचिवालयका सदस्यहरू कीर्तिपुर अस्पताल पुगेका थिए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शनिबार बेलुकै अस्पताल पुगेर उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्यको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई निर्देशन समेत दिएका थिए ।

यसबीच सरकारले नेता र जनतामा विभेद गरेको अस्पतालमा उपचार गराइरहेकाहरुले गुनासो पनि गरेका छन् । भीआईपीको उपचारका लागि सबथोक गर्न तयार हुने तर गरिब–निमुखाको भने पैसा अभावमा मृत्यु भइरहेको र्कीतिपुर अस्पतालमा उपचाररत बिरामीका आफन्तले गुनासो गरेका छन् ।

अस्पताल प्रशासनको तथ्याङ्क अनुसार हाल जलनमा परेका ४१ बिरामीको उपचार भइरहेको छ । गत बिहीबार कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका चार जनाको मृत्यु भइसकेको छ ।

उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका १० जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top