मालपोत कार्यालयका प्रमुखकै मिलेमतोमा जग्गा बिक्री

मालपोत कार्यालयका प्रमुखकै मिलेमतोमा जग्गा बिक्री

चाबहिल मालपोतका प्रमुखसहित आठ कर्मचारी प्रहरी हिरासतमा

मालपोत कार्यालय चाबहिलका प्रमुखकै मिलेमतोमा धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्री भएको खुलेको छ । प्रहरीले मालपोत प्रमुखसहित थप चार कर्मचारीलाई पक्राउ गरेको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

मालपोत कार्यालय चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिमल्सिनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीसहित नासु चन्द्रबहादुर श्रेष्ठ र कार्यालय सहयोगीद्वय मुकुन्द धिताल र रमेश महजर्नलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।चाबहिल मालपोतका थप चार कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् ।

उनीहरूको बयानमा कार्यालय प्रमुखकै संलग्नता खुलेको हो । यसअघि पक्राउ परेका कर्मचारीले कार्यालय प्रमुख तिमल्सिनाको निर्देशनअनुसार नै जग्गा पासको काम भएको उनीहरूको बयान छ ।

त्यस्तै, मालपोत कार्यालयका कर्मचारीहरूले जग्गा धनीका फोटो परिवर्तनमा सहयोग गरेको आशंका गरिएको छ । व्यवसायी चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ–१६ स्थित ४० आना जग्गा एक महिनाअघि उनलाई थाहा नै नदिई नक्कली कागजपत्रका आधारमा बिक्री भएको थियो ।

पक्राउ पर्दा पनि जागिर कायमै ?

सुरक्षा संगठनमा कार्यरत फौजदारी अभियोगमा पक्राउ परेलगत्तै निलम्बनमा पर्ने गर्दछन् । तर, निजामती कर्मचारीहरू भने जेल चलान हुँदासमेत निलम्बनमा पर्ने गरेका छैनन् । भूमाफियासँग मिलेर धनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने आठ कर्मचारी पक्राउ परे पनि उनीहरूलाई निलम्बन गरिएको छैन ।

त्यस्तै, गत महिना कम्पनी रजिस्ट्रारको कार्यालयका ६ कर्मचारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मुद्दा दायर गरेको थियो । नक्कली कागजपत्रका आधारमा कम्पनी बिक्री गरेको आरोपमा दुई उपसचिवसहितका कर्मचारीविरुद्ध मुद्दा दायर भयो । उनीहरूलाई चार लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.