६ फागुन , काठमाण्डौ।
दक्षिण एसियाको राजनीतिको विशेषता नै हो, वंश परम्परा । नेपाल मात्र होइन भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानमा समेत वंश परम्पराले राजनीतिमा डेरा जमाएको छ । चाहे त्यो जहानीया राणा शासन होस् या शाह वंशीय शासनदेखि गणतन्त्रका मसिहासम्म पुस्ता राजनीतिले निरन्तरता पाएको छ ।
आज हामी नेपाल टाइम्समा नेपालको पुस्ता राजनीतिको अवस्था र विश्वका बारेमा चर्चा गर्ने जमर्को गर्ने छौ । नेपालका राणा, शाह पछि राजनीतिमा चर्चा आउनेमा कोइराला परिवार पर्छ । कोइरालाको परिवारको तेस्रो पुस्ता वर्तमान राजनीतिमा सक्रिय छ भने यही पुस्ता नै अन्तिम हुने हो कि भन्ने आंकलन गर्न थालिएको छ ।
पिता कृष्ण प्रसाद कोइरालाका तिन भाइ छोरा मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री बने । कोइराला परिवार भित्रकै नरहेपनि सुशील कोइराला पनि प्रधानमन्त्री बने ।
बिपी कोइरालाका छोरा शंशाक कोइराला नेपाली कांग्रेसको महामन्त्री बनी सकेका छन् भने अहिले प्रतिनिधि सभाका सदस्य छन् । उनी नेपाली कांग्रेसका १५ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवार बन्ने तयारीमा छन् ।
गिरिजा प्रसादकी छोरी सुजता कोइराला अहिले पनि पार्टी राजनीतिमा सक्रिय छिन् । उनी उपप्रधानमन्त्री समेत बनी सकेकी छिन् । यसै गरी कोइराला परिवारका अर्का सदस्य केशवप्रसाद कोइरालाका पुत्र डाक्टर शेखर कोइराला कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
उनी प्रतिनिधि सभाको सदस्य हुने भने कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापति पदमा शेरबहादुर देउवा सँग पराजित भएका थिए । उनी पनि शशांक जस्तै १५ औँ महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने तयारीमा छन् ।
कोइराला परिवारका अर्को सदस्य कमल कोइरालाले पनि आफ्नो जीवन राजनीतिमा नै बिताए । चौथो पुस्ताका २१ सदस्यमध्ये तीन जनाको मात्र राजनीतिमा आउने सम्भावना बोकेकामा पर्छन् । प्रकाश कोइरालाकी छोरी मनिषा र छोरा सिद्धार्थका साथै निरञ्जन कोइरालाका कान्छा छोरा भास्कर कोइराला पुस्ताको राजनीति थाम्न आए भने मात्र नभए अरू आ–आफ्नै बाटोमा लागेका छन् ।
यदि चौथो पुस्ताको २१ सदस्य मध्ये कोही पनि राजनीतिमा आएनन् भने नेपालमा कोइराला परिवारको राजनीतिक यात्रा इतिहासमा मात्र सीमित हुने पक्का छ । चौथो पुस्ताका धेरै सदस्य देशबाहिर छन् । यहाँ भएकाहरू पनि राजनीतिबाट टाढा छन् ।
मनिषाको राजनीतिक पदार्पण असम्भव रहेको बुझाइ बाक्लो देखिँदा सिद्धार्थ र भास्करको नगन्य सम्भावना रहेको आंकलन गरिन्छ । तेस्रो पुस्ताका सदस्य डा. शेखर, सुजता र डा. शशाङ्कले दुई पटकसम्म एकै ठाउँ भेला भएको तस्बिर सार्वजनिक गरेर कांग्रेसमा वंश परम्पराबाट नेतृत्व छानिने सम्भावना टाढा नभएको सन्देश दिन खोजी रहेका छन् ।
कोइराला परिवार बाहिर पनि पारिवारिक सम्बन्धका कारण राजनैतिक उचाइ हासिल गर्नेहरूको सङ्ख्या धेरै छ । नेकपा एमालेका नेता स्वर्गीय मदन भण्डारी कि पत्नी दुई पटक यो देशको राष्ट्रपति बनिन् ।
भण्डारीकी छोरी उषा किरण भण्डारी अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य बनी सकेकी छिन् । कांग्रेसका सभापति देउवाकी श्रीमती आरजु राणा परराष्ट्र मन्त्री छिन् । यस्तै कांग्रेसका नेता स्वर्गीय गणेशमान सिंह पत्नी मङ्गलदेवी सिंह नेपाल महिला सङ्घ अध्यक्षको केन्द्रीय अध्यक्ष सम्म बनेकी थिइन ।
उनका छोरा प्रकाशमान सिंह अहिलेको सरकारमा उपप्रधानमन्त्री छन् । उनी पनि कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनेका थिए भने १५ औँ महाधिवेशनमा फेरि सभापति बन्ने इच्छा व्यक्त गरी रहेका छन् ।
कांग्रेसकै अर्का नेता महेन्द्र नारायण निधिका पुत्र बिमलेन्द्र निधि पनि नेपाली राजनीतिमा चर्चित नाम हो । उनी पनि पटक पटक मन्त्री बनी सकेका छन् । १४ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार समेत बनेका उनी पनि १५ औँ महाधिवेशनमा फेरी सभापति पदको उम्मेदवार बन्ने तयारीमा छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको परिवार पनि पुरै राजनीतिमा छ । पत्नी स्वर्गीय सिता दाहाल र स्वर्गीय छोरा प्रकाश दाहाल भूमिगत कालदेखि नै पार्टी राजनीतिमा सक्रिय थिए । प्रचण्ड पुत्री रेणु दाहाल दोहोर्याएर भरतपुर महानगरपालिकाको मेयर बनेकी छिन् ।
कान्छी छोरी गङ्गा दाहाल प्रचण्डको अहिले पनि दाहिने हात भएर काम गरिरहेकी छिन् । बुहारी बिना मगर पहिला नै खानेपानी मन्त्री बनी सकेकी छिन् । प्रचण्डका भाइ नारायण दाहाल अहिले राष्ट्रिय सभाको अध्यक्ष छन् भने भतिजा महेश दाहाल अस्ट्रेलियाको लागि नेपाली राजदूत छन् ।
प्रचण्डका ज्वाइँ जीवन आचार्य कोशी प्रदेशका सांसद हुन । उनी कोशीमा मन्त्री बनिसकेका छन् । यो देशमा पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको पारिवारिक राजनीतिको लहरो भने धेरै लामो छैन ।आफूले राजनीति गर्दा भाइहरूलाई सहयोगी भूमिकामा मात्र देखाए भने छोरालाई जागिर खान पठाए ।
जीवनको पुर्वाधमा आएर छोरा सुनिल थापालाई राजनीतिमा प्रवेश गराए । थापा पञ्चायती व्यवस्थाका सबै भन्दा बढी प्रधानमन्त्री बन्ने व्यक्ति हुन् । छोरा सुनिल थापाले राप्रपाको राजनीति धेरै लामो समय सम्म गरेनन् । सुनिल कांग्रेसमा प्रवेश गरे ।
अहिले सुनिल राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार छन् । थापा पनि मन्त्री त बनिसकेका छन् । उनका छोरा सिद्धार्थ थापा पनि राजनीतिमा आउन हल्ला बेला बेला आउँछ । तर पितालाई निर्वाचनको समयमा भोट माग्न धनकुटा पुग्नु बाहेक अन्य राजनीति क्षेत्रमा उनलाई देखिएको छैन ।
राप्रपाका नेता पशुपति शमशेर जङ्गबहादुर राणा तिनै राणाहरूको सन्तान मध्ये एक हुन जो अहिले पनि राजनीतिमा सक्रिय छन् । चर्चामा रहेकाभन्दा बाहिर पनि धेरै जनाको पारिवारिक राजनीति छ । तर आफू शक्तिमा पुगेको बेला आफ्ना परिवार सदस्यलाई जसरी भए पनि पदमा पु¥याउने चलनले जनता भने आजित भइसकेका छन् ।
एउटा परिवारका सबै सदस्य एकै क्षेत्रमा लाग्नु राम्रो होला तर राज्य दोहन गरेर परिवारका सदस्यलाई पोस्नु चाही पक्कै पनि राम्रो हैन् । राजनीति जनताको सेवा गर्ने माध्यम हो, न कि व्यक्तिगत वा पारिवारिक सत्ताको विस्तार गर्ने साधन।
योग्यताको आधारमा भन्दा नाता सम्बन्धका आधारमा अवसर वितरण गर्नाले लोकतन्त्र कमजोर हुन्छ र आम नागरिकको विश्वास गुम्छ। यसैले राजनीति कुनै घरानाको निजी सम्पत्ति नबनोस्,यो देश र जनताको भविष्य निर्माण गर्ने पवित्र माध्याम बनोस् ।