१२ फागुन, एजेन्सी ।
ताइवानलाई कुनै पनि समय चीनमा समाहित गर्ने बताउँदै आएको चीनले लगातार आफ्नो सैन्य शक्ति विस्तार गरिरहेको छ। पछिल्लो रिपोर्टअनुसार, चीनको सेनाले हालै न्यूक्लियर, बायोलोजिकल, केमिकल हतियारसहित एक विशाल युद्ध अभ्यास सम्पन्न गरेको छ।
यस अभ्यासमा ड्रोन, रोबोट डग र विस्फोटक रोबोट सम्मिलित गरिएका थिए। चिनियाँ सरकारी मिडियाका अनुसार, पीपुल्स लिबरेशन आर्मीको ७३औँ ग्रुप आर्मी ले यो युद्ध अभ्यास सञ्चालन गरेको हो। अभ्यास सम्पन्न भए पनि चिनियाँ मिडियाले यसको स्थान खुलाएका छैनन् ।
रिपोर्टअनुसार, यो अभ्यास आधुनिक युद्ध प्रविधि, सेना रणनीति र युद्धभूमिमा प्रविधिको भूमिकालाई परिक्षण गर्नका लागि गरिएको हो। अभ्यासमा संलग्न ब्रिगेडका एक सदस्य क्यू हुआली का अनुसार, “चाहे उन्नत स्तरको सिमुलेशन ट्रेनिङ होस् वा मानव रहित उपकरणहरूको व्यापक प्रयोग, यी सबैले हामीलाई नयाँ प्रतिस्पर्धी बाटोहरू प्रदान गर्छन्।“
उनले थप भनेका छन्, “सिमुलेशन ट्रेनिङले युद्धको वातावरणमा समन्वय वृद्धि गर्छ। हामीले मानवयुक्त र मानवरहित युद्ध रणनीतिमा सुधार गर्दै आधुनिक युद्ध प्रणालीलाई समाहित गरेका छौँ।“ यस युद्ध अभ्यासको प्रमुख विशेषता भनेको मानवरहित हतियारहरूको व्यापक प्रयोग थियो।
चिनियाँ मिडियाका अनुसार, चिनियाँ रक्षा विशेषज्ञ सोंग झोंगपिंग ले भनेका छन्, “बेइजिङ रोबोट र मानव रहित उपकरणहरूको प्रयोग दोब्बर बनाउँदैछ। यो प्रविधिले युद्धमा मानिसको निर्भरतालाई घटाउँछ, हताहती कम गर्छ र मशीनहरू मानवभन्दा राम्रोसँग लड्न सक्छन्।“
उनले थप भनेका छन् कि, “ड्रोनहरू युद्धमा महत्वपूर्ण भूमिका खेल्छन्, किनभने तिनीहरूले मानव क्षतिलाई कम गर्न सक्छन् र युद्ध रणनीतिलाई अझ प्रभावकारी बनाउँछन्।“ चिनियाँ सैन्य विज्ञहरूले युद्धमा कृत्रिम बुद्धिमत्ता एआई र ‘इंटेलिजेन्टाइजेशन’ को भूमिकालाई विशेष महत्त्व दिइरहेका छन्।
पिएलए अहिले एआई प्रविधि र मानव रहित प्रविधिको एकीकरणमा केन्द्रित रहेको छ। यसअघि, फेब्रुअरी १९ मा चिनियाँ सरकारी टेलिभिजन सीसीटिभीले रिपोर्ट गरेको थियो कि पिएलएले पाइलट उम्मेदवारहरूको शरीरमा पर्ने प्रभावलाई बुझ्न एआईको प्रयोग थालेको छ।
रिपोर्टअनुसार, एआई प्रविधिले सैनिकहरूको स्वास्थ्य जोखिम पहिचान गर्न सहयोग गर्छ। एआई प्रणालीले डाक्टरहरूले नदेख्ने स्वास्थ्य समस्याहरू पत्ता लगाउन सक्छ, जसले सैनिकहरूलाई भविष्यमा आउने सम्भावित स्वास्थ्य समस्याबाट जोगाउन मद्दत गर्छ।
चिनियाँ सेनाले आफ्नो हवाई सेना (एयर फोर्स) का सैनिक र पाइलटहरूलाई लामो समयसम्म स्वस्थ राख्न एआई प्रविधिको प्रयोग गर्दैछ, जसले तिनीहरूको शारीरिक क्षमता सुधार गर्न र फाइटर जेटको वातावरणअनुकूल बनाउने योजना रहेको बताइएको छ।
चीनको यो सैन्य अभ्यासले उसको मानवरहित युद्ध रणनीति, एआई प्रविधिको एकीकरण र न्यूक्लियर, बायोलोजिकल, केमिकल हतियारहरूको प्रयोगमा जोड दिएको छ । जसले उसको सैन्य शक्ति थप उन्नत बनाउने विश्लेषण गरिएको छ ।