१३ फागुन,काठमाण्डौ।
भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । साबिक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’लाई एनएसएलको तेस्रो संस्करणका लागि भित्र्याएको हो ।
विंगर ग्याल्सेन दोसोपल्ट नेपाल आउन लागेका हुन् । यसअघि उनले मच्छिन्द्र फुटबल क्लबबाट २०७९ को ‘ए’ डिभिजन लिगसमेत खेलिसकेका छन् । सात खेल खेलेका उनले मच्छिन्द्रबाट एक गोल गरेका थिए ।
त्यसपछि चोट बोकेका उनी स्वदेश फर्किए । उनले भुटानी टोलीबाट १३ गोल गरेका छन् । उनीले यसअघि इन्डियन सुपर लिग (आइएसएल)मा केरला ब्लास्टर्स, बेंगलुरु र पञ्जाबबाट एफसीबाट खेलिसकेका छन् ।
ललितपुरले यसअघि हाइटीका पूर्वविंगर केर्भेन्स बेलफोर्ट अनुबन्ध गरेको थियो । ३२ वर्षीय बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए । सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन् ।
गत संस्करणको विजेता ललितपुरले नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङलाई मार्की प्लेयरमा निरन्तरता दिएको छ । यस्तै, सनिश श्रेष्ठ र आदित्य शाक्य रिटेन गर्दा मणिकुमार लामा र सन्तोष खत्रीलाई चार÷चार लाख खर्चिएर ‘ए’ क्याटोगोरीबाट भित्र्याइसकेको छ ।
सुदीप गुरुङ, योगेश गुरुङ, नवीन लामा, अभिषेक वाइवा र सुमित श्रेष्ठलाई पनि ललितपुरले अक्सनबाट लिएको छ । यसबीच एनएसएलको फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो ।
धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो संस्करणमा ललितपुर सिटी एफसीसँग पराजित भएको थियो । धनगढीले तेस्रो संस्करणका लागि मिडफिल्डर कृतिशरत्न छुन्जुलाई मार्की खेलाडी बनाएको छ ।
नेपाल सुपर लिगको तेस्रो संस्करण चैत १६ गते देखि हुने छ । एनएसएलअघि नेपालले चैत १२ गते एएफसी एसियन कप तेस्रो चरण छनोट अन्तर्गत घरेलु मैदानमा मलेसियासँग खेल्नेछ ।
पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।