१४ फागुन, काठमाण्डौ ।
आज एकाविहानै काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै विहानीको मस्त निन्द्रामा सुतिरहेका ससर्वसाधारण त्रसित बनेका थिए। राष्ट्रिय मापन केन्द्रले बिहान २ः५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पको क्षति विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ । हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार उनको उपचार भइरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उनले जानकारी दिएका छन् ।
भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताएका छन् । विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली आवश्यकता अनुसार फिल्डमा खटिएको उनले बताएका छन् ।
हाल भूकम्पको परकम्प जाने क्रम जारी छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अहिलेसम्म प्राप्त विवरण अनुसार भौतिक र मानवीय क्षति भएको छैन ।
दुगुनागडीमा सामान्य पहिरो गएको उल्लेख गर्दै उनले प्रहरी चौकीको भवन पनि सामान्य चर्केको बताए । प्रहरीका अनुसार जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको छ ।
भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस भएको छ । यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।
विनाशकारी गोरखा भूकम्प गएको १० वर्ष पूरा हुन लागेको छ । त्यसको परकम्प अझै मापन गरिँदै छ । सानाठूला गरेर गोरखा भूकम्पका ६० हजारभन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आजको ६.१ म्याग्निच्युडको धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताएका छन्। गोरखा भूकम्पको यो पाँचौँ ठूलो परकम्प हो । उक्त भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ६०२ परकम्प मापन गरिएको उनले बताएका छन् ।
०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो भूकम्प र परकम्पमा करिब नौ हजारजनाले ज्यान गुमाए । २२ हजारभन्दा धेरै मानिस घाइते भए । ठूलो भौतिक क्षति पनि भयो ।
त्यही भूकम्पका ६ म्याग्निच्युडदेखि माथिका पाँच परकम्प मापन गरिएको छ । परकम्प पनि भूकम्पीय धक्का नै हो । यो यति समयसम्म आउँछ भनेर यकिन गर्न नसकिने भूकम्पविद् बताउँछन् । अमेरिकामा एउटै भूकम्पको परकम्प २०० वर्षसम्म पनि आइरहेको भूकम्पविद्हरुले बताएका छन् ।
भूकम्पविद्का अनुसार, पूर्ववत् अनुपातमा नफर्कुन्जेलसम्मको अवस्थालाई परकम्प भनिन्छ । त्यो भनेको मुख्य भूकम्प जानुभन्दा अगाडिको अवस्थामा नफर्कंदासम्म दरार क्षेत्रमा मापन गरिने कम्पन परकम्प हुन्छ ।
यसैबीच नेपालपछि पाकिस्तानमा पनि आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ः५७ बजे ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीबाट १० किलोमिटर तल रहेको थियो । पछिल्लो समय भारत, पाकिस्तान र नेपालमा भूकम्पका धक्काहरू आइरहेका छन् ।