१८ फागुन , एजेन्सी ।
अष्ट्रेलियाका म्याट रस नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मुख्य प्रशिक्षक म्याटलाई स्वागत गरेका छन् । नेपालले पछिल्लो पटक विश्वकप÷एसियन कप छनोटको अन्तिम खेल गत वर्ष जुनमा यमनविरुद्ध खेलेको थियो ।
उक्त खेल २–२ को बराबरीमा टुंगिएको थियो । त्यस खेलपछि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण गर्न एन्फाले चासो देखाएन । त्यसयता मुख्य प्रशिक्षक पद रिक्त थियो । एन्फाले प्रशिक्षक नियुक्त गर्न नोभेम्बरमा आवेदन खुला गरेको थियो ।
गत नोभेम्बरमै ताजिकिस्तानमा आयोजना भएको मैत्रीपूर्ण खेलमा ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि २–० को जित निकाल्न सफल भएको थियो ।
उक्त खेलका लागि नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो । तर, त्यसयता नेपाली राष्ट्रिय टोली कुनै औपचारिक खेलमा सहभागी नभएको पनि साढे तीन महिना बितिसकेको छ ।
यद्यपि, हाल अस्ट्रेलियाका प्रशिक्षक रसलाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । उनी डेढ महिनादेखि काठमाडौंको कोटेश्वरको होटेल बसिरहेका थिए । एन्फाका अनुसार उनीसँग एक वर्षको सम्झौता गरिएको छ ।
यसैबीच फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुइजी बुफोन नेपाल आइपुगेका छन् । इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा नेपाल आइपुगेका हुन् ।
आयोजक राष्ट्रिय युवा संघ नेपालका अनुसार उनी आइतबार नेपाल आइपुगेका हुन् । उनी बिहान ११ बजे टर्कीस एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका थिए । ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोसजस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरिएको थियो। तर, उनीहरू नआउने भएपछि बफोनलाई ल्याउन लागिएको उनको भनाइ छ ।
बुफोन नेपाल आए उनी नेपालमा आउने विश्व फुटबलकै ठूला नाम हुनेछन् । सन् २००६ को फिफा विश्वकप जितेका बुफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् ।
उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए । बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओली कपको फाइनल खेल भोलि दशरथ रङ्गशालामा हुँदैछ ।
बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका थिए । उनले भिडियोमा नेपालीमै सम्बोधन गरेका थिए । केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् ।
दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई चार गोलको फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । त्यस्तै अस्ति भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।