२७ फागुन ,काठमाण्डौ।
कार्यसम्पादनमा शून्य नम्बर दिएर एकपछि अर्को स्पष्टीकरण सोधेको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिन भने अझै अलमलमा देखिएको छ ।
सरकारले पछिल्लो पटक कुलमानसँग तीन दिने स्पष्टीकरण सोधेको थियो, जसको जवाफ घिसिङले बुझाई सकेपनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै निर्णय गर्न सकेन । सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अरु निर्णय भए पनि कुलमानबारे कुनै निर्णय नभएको मन्त्रीहरूले बताएका छन् ।
विभागीय मन्त्री (ऊर्जामन्त्री दीपक खड्का) ले मन्त्रिपरिषद्मा रिपोर्ट पेस नगरेकोले त्यससम्बन्धी कुनै निर्णय पनि नभएको बैठकपछि एक मन्त्रीले बताएका छन् । बरु बैठकमा राजावादीले गरिरहेको गतिविधिबारे चर्चा भएको ती मन्त्रीको भनाइ थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको सक्रियताबारे बैठकमा धारणा राखेका थिए । यद्यपि उनले राजावादीको सक्रियताको औचित्य नभएको भन्दै नतिजा निस्कनेगरी काम गर्न निर्देशन दिएका थिए ।
कुलमानको हकमा भने सामान्य चर्चाबाहेक केही नभएको र सम्भवतः अर्को बैठकमा छलफल हुने बताइएको छ । सरकारले कुलमानलाई हटाउने उद्देश्यले यसअघिको मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधेको थियो ।
गत बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई सफाइ पेस गर्ने मौका दिने निर्णय गरेको थियो । त्यसका लागि ३ दिनको समय पनि तोकेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले कुलमानलाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको थियो ।
कुलमानले त्यसको जवाफ आइतबार मन्त्रालयमार्फत दिइसकेका छन् । यसअघि ऊर्जा मन्त्रालयले पटकपटक उनीसँग स्पष्टीकरण सोधिसकेको थियो । यसैबीच तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले कुलमान घिसिङको अवमूल्यन हुने गरी कुनै पनि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मोर्चाले सोमबार एक विज्ञप्ति जारी गर्दै कुलमानको अवमूल्यन हुनेगरी सरकारले कुनै पनि निर्णय गरेको खण्डमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।