विराटनगर,असोज १५
वर्तमान मुलुकी अपराध संहिता ऐनको बिषयमा पूर्णरुपमा जानकारी पाउन नसकेका कारण सवारी चालकहरुमा अन्यौलता रहेको सम्बद्ध अगुवाहरुले बताएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगर महानगर कमिटिले सोमबार विराटनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि संहिताको बिषयमा सवारी चालकलाई जानकारी गराएको हो ।
सो अवसरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले मुलुकी अपराध संहिता परिमार्जन भएर आएपछि भ्रम फिजाइएकाले चालकहरुमा अन्यौलता र त्रास रहेको बताए ।
जीफन्टका प्रदेश एक प्रमुख किशोर धमलाले संहिता परिमार्जन भएर आएको र चालकहरुको विपक्ष रहेको भन्न नमिल्ने बताए । उनले मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा नियतबस दुर्घटना गराउनेलाई मात्र संहिताले जेल सजाय लगायतको ब्यवस्था गरेको उनको भनाई थियो ।
धमलाले भ्रम फैलाउनेहरुबाट सजग रहन चालकहरुलाई सुझाव दिंदै सबै चालकले संहितको बिषयमा जानकार हुनुपर्ने बताए । कार्यक्रममा ५ दर्जन बढी चालहरुको सहभागिता थियो ।