११ चैत, काठमाण्डौ।
अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा सञ्चालित एमसीसी परियोजना तत्कालका लागि फेरि सुरु गर्न अनुमति प्रदान गरेको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले अमेरिकी सरकारले एमसीसीअन्तर्गतका परियोजना अघि बढाउन अनुमति प्रदान गरेको जानकारी दिएको छ ।
तर ९० दिनको समीक्षा अवधि भने अझै जारी रहेकाले कार्यक्रमको निरन्तरताबारे भने प्रष्ट छैन । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर आएपछि सबै प्रकारका विदेशी अनुदान स्थगन गरेका थिए ।
सो क्रममा एमसीसी परियोजना स्थगित भएको थियो भने नेपालमा सञ्चालित यूएसएडका कतिपय कार्यक्रम खारेजीमै परेका छन् । ‘अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ,’ एमसीए नेपालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने कुनै संकेत गर्दैन।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अनुशरण गर्दै एमसीसीले लिएको कदमले नेपालको परियोजना अन्योलमा परेको थियो । एमसीसीले गत फागुन २ मा नेपाल सरकारलाई पत्राचार गरेर भुक्तानी रोक्ने जानकारी दिएको थियो ।
अहिले त्यही स्थगित परियोजना पुनः सुरु हुन लागेको एमसीएले जनाएको छ । ‘एमसीए नेपाल अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने काम भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको छ,’ एमसीएले जारी गरेको सूचनामा भनिएको छ ।
एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो । ०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार ०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको थियो ।
सुरुआती सम्झौतामा ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख छ । गत पुसमा अमेरिकी सरकारले परियोजनाका लागि थप ५ करोड डलर दिने घोषणा गरेको थियो ।
ट्रम्पले ९० दिनका लागि भन्दै अनुदान रोकिदिएका भए पनि एमसीसीको अनुदानमा हुने काम भने नेपालमा चलिरहेका छन् । यद्यपि पछिल्लो सूचनामा पनि एमसीसी अन्तर्गतका परियोजना पूरा हुन्छन् कि हुँदैनन् भन्ने प्रस्ट छैन ।
एमसीए नेपालअन्तर्गत १८ किलोमिटर बुटवल–गोरखपुर प्रसारण लाइन, ४ सय केभी नयाँ बुटवल सबस्टेसन, ४ सय केभी नयाँ दमौली सबस्टेसन र ४ सय केभी रातामाटे सबस्टेसन निर्माणाधीन छन् ।
एमसीए नेपालका अनुसार २९७ किमि प्रसारण लाइन र धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर ठेक्का आह्वान गरी प्राप्त प्रस्तावको मूल्यांकन भइरहेको छ । एमसीए नेपालले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माण गर्न १ करोड २३ लाख ६० हजार अमेरिकी डलरमा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ भदौ १४ मा सम्झौता गरेको थियो ।
उक्त प्रसारण लाइन २१ महिनामा सकाउने लक्ष्यका साथ प्रारम्भिक चरणका काम भइरहेको एमसीए नेपालले जनाएको छ । एमसीसी अन्तर्गत बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन, ४०० केभी सबस्टेसनहरू, २९७ किलोमिटर विद्युत् प्रसारण लाइन, र सडक मर्मत जस्ता महत्वपूर्ण पूर्वाधार परियोजनाहरू कार्यान्वयन भइरहेको छ।
यी सबै संरचनाहरू नेपालको ऊर्जा आपूर्ति सुदृढ पार्न, अन्तरदेशीय व्यापारलाई प्रवद्र्धन गर्न र यातायात पूर्वाधार सुधार गर्न महत्त्वपूर्ण छन्। नेपालमा एमसीसी परियोजनाबारे सधैं विभाजित दृष्टिकोण रहेको छ।
तर, नेपालको राष्ट्रिय हितको दृष्टिकोणबाट हेर्दा यो परियोजना ऊर्जा पूर्वाधार र विकासका लागि महत्वपूर्ण अवसर हो। नेपालले आफ्नो ऊर्जा आपूर्तिलाई सुदृढ बनाउन प्रसारण लाइन निर्माण र अन्तरदेशीय व्यापारलाई सघाउने संरचनाहरू आवश्यक छ, जसका लागि एमसीसी परियोजना योगदान दिन सक्छ।
तर, नेपालले परियोजनाको दिगोपन, पारदर्शिता, र राष्ट्रिय स्वाधीनता कायम राख्ने गरी समझदारी निर्माण गर्नुपर्छ। यदि एमसीसी परियोजना सचेत ढंगले कार्यान्वयन गरियो भने यसले विद्युत् आपूर्ति सुधार, आर्थिक विकास, र रोजगारीको अवसर सिर्जना गर्नेछ।