११ चैत, एजेन्सी ।
विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएपछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो ।
कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । विराट कोहली ५९ रनमा अविहित रहे भने साल्टले ५६ रन बनाए । रजत पाटिदारले ३४ रन बनाए ।
लियाम लिभिङस्टोन १५ रनमा अविजित रहे । कोलकाताका वरुण चक्रवर्ती, वैभव अरोरा र सुनिल नरयानले समान १ विकेट लिए । त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
कप्तान अजिन्क्या रहानेले तथा सुनिल नरायनले ४४ रन बनाए । अंग्क्रिश रघुवंशीले ३० रन बनाए । बेंगलुरुका क्रुनाल पाण्ड्याले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । जोश हेजलवूडले २ तथा यश दयाल, सुयाश शर्मा र रसिख सलामले १–१ विकेट लिए ।
यस जितसँगै बेंगलुरुले २ अंक जोडेको छ भने नेट रनरेट पनि सुरुवातमै राम्रो हासिल गरेको छ । अब आज दुई खेलहरू हुनेछन् । दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् भने बेलुकी पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।