१५ चैत , काठमाण्डौ ।
राजावादीहरू सडक प्रदर्शनमा सक्रिय भएपछि समाजवादी मोर्चाले पनि काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । यी प्रदर्शनमा सुरक्षा संवेदनशीलता ख्याल गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
यसैबीच राजावादीहरुकातर्फबाट आजको प्रदर्शनको ‘कमाण्डर’ रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूहरूको सक्रियता देखेर सरकार अतालिएको र आफूलाई नजरबन्द गर्ने योजना बनाइरहेको दाबी गरेका छन् ।
तर पनि आफू नडराउने र आजको प्रदर्शनमा सशक्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘सरकार अतालिएको छ, मलाई नजरबन्द गर्ने सम्मको योजना बुन्दै छ । म डराउँदिन, भाग्ने छैन, वचलित हुने छैन ।
तपाईंहरू पनि ऊर्जावान् भएर यो आन्दोलनमा सहभागिताका लागि सादर अनुरोध गर्दछु’, प्रसाईंले भनेका छन् । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले बिहीबार अपिल जारी गरी चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने, १७ गते थप आन्दोलनको घोषणा गर्ने र २१ गतेदेखि सशक्त प्रदर्शन गर्ने जनाएको छ ।
यता राजावादीहरुलाई काउन्टर दिन समाजवादी मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।
पुराना पञ्च नेता नवराज सुवेदी र दुर्गा प्रसाईँ नेतृत्वमा राजतन्त्र पक्षधरहरूले प्रर्दशन गर्न लागेका हुन् भने पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा गणतन्त्र पक्षधरको प्रदर्शन हुन लागेको हो ।
राजतन्त्र पक्षधरले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई पुनःस्थापना गर्नुपर्ने मागसहित आन्दोलन चर्काउन थालेका छन् । त्यही क्रममा सुवेदी नेतृत्वमा तेस्रा जनआन्दोलन संयोजन समिति बनाएका हुन् ।
उक्त समितिको ब्यानरमा आन्दोलन अगाडि बढाउन थालेपछि प्रचण्ड, नेपाल र विप्लवसहितका समाजवादी मोर्चाले काउन्टर प्रदर्शन गरेको हो । खासगरी २५ फागुनमा राजतन्त्र पक्षधरले गरेको प्रदर्शनको विरोधमा मोर्चाले आज प्रदर्शन गर्ने निर्णय लिएको थियो ।
तर, आजको गणतन्त्र पक्षधरहरूको प्रदर्शनलाई काउन्टर गर्न सुवेदी नेतृत्वको समितिले आजै अर्को प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसैले आज गणतन्त्रपक्षधर र राजतन्त्र पक्षधर सडकमा आमनेसामने हुने भएका छन् ।
सरकारले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नका लागि राजतन्त्र पक्षधरलाई स्थान उपलब्ध गराएको छ भने गणतन्त्र पक्षधरहरूले पहिला नै भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेका थिए । गणतन्त्र पक्षधरले प्रर्दशनीमार्गको सडकमा नै मन्च बनाएका छन् ।
राजतन्त्र पक्षधर भनिएका राप्रपा, राप्रपा नेपालसहित विभिन्न समूहले पनि साथ दिएका छन् । यता मोर्चाका प्रदर्शनलाई पनि एमाले महासचिव शंकर पोखरेलले पनि प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले गणतन्त्र पक्षधरको आन्दोलनमा समर्थन जनाएका हुन् । यद्यपी, कांग्रेस भने अझै मौन देखिएको छ ।
काठमाडौंमा आज हुने प्रदर्शनलाई लक्षित गरेर सुरक्षा निकायले ४५ सय प्रहरीलाई फिल्डमा परिचालन गरेको छ । साथै, आजको जुलुश, सभाको लागि १२ सयभन्दा बढी प्रहरीलाई हाई अलर्टमा राखिएको छ ।
जुलुस र सभालाई निगरानी गर्न ड्रोन र सीसीक्यामेरा पनि प्रयोग गरिदैँछ । क्यामेरा र ड्रोनबाट निगरानी गरिने भएकोले कुनै अभद्र व्यवहार भएमा वा प्रदर्शन भड्किएमा तत्कालन सुरक्षाकर्मी परिचालन गर्न सहज बनाउन खोजिएको सुरक्षा निकायले उल्लेख गरेको छ ।
तिनकुने र भृकुटी मण्डपमा हुने प्रदर्शनलाई एकअर्कावीच भेट नहुने अवस्था बनाउन खोजिएको छ । राजतन्त्र पक्षधरहरूले आन्दोलन भड्काउन खोज्ने संभावना भएकोले गणतन्त्र पक्षधरहरू संयमित हुनुपर्ने आवाज उठिरहेको छ ।
आजका लागि नियमित टोलीबाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी थप गरिएको छ । राजावादी र समाजवादीको मुठभेड हुन नदिन जिल्ला सुरक्षा समितिको बैठकले छुट्टाछुट्टै स्थानमा कार्यक्रमस्थल तोकेको छ ।
समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ । त्यहाँसम्म पुग्नका लागि पनि छुट्टाछुट्टै रुटको प्रयोग गराइने भएको छ । दुई टोली भेट हुन नदिनका लागि समाजवादी मोर्चाको रिङरोडभित्रबाट ¥याली सुरु तय भएको छ ।
४ दलका सबैतिरका ¥याली रिङरोडभित्रबाट सुरु भएर प्रदर्शनीमार्गमा पुग्ने छन् । हरेक टोलीलाई प्रहरीले एस्कोर्टिङसहित कार्यक्रमस्थलसम्म पु¥याउने छ । दुई टोली भेट हुन नदिनका लागि गस्ती र पेट्रोलिङ बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बताएको छ ।
यस्तै सशस्त्र प्रहरीले पनि शुक्रबारको कार्यक्रमका लागि २ हजार जनशक्ति परिचालन गर्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिएका छन् ।
कार्यक्रमस्थलमा लठ्ठी लिएर आउन नपाइने, अवाञ्छित गतिविधि गर्न नपाउने, निषेधित क्षेत्र तोड्न नपाउने, तोकिएका रुट प्रयोग गर्ने र त्यसलाई अवज्ञा गरे त्यही अनुसारको तयारी गरिएको प्रहरीले जनाएको छ ।