२० चैत , काठमाण्डौ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति र बर्खास्ती सम्बन्धी विवादमा आज पनि सुनुवाइ हुँदै छ । मंगलबारदेखि नै न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो ।
मंगलबार उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू दिनमणि पोखरेल, ललित बस्नेत, तुल्सी भट्ट, माधव बस्नेत, मेघराज पोखरेललगायतले बहस गरेका थिए । उनीहरूले सरकार पूर्वाग्रही भएर विधि र मान्यता विपरीत कुलमानलाई हटाइएको भन्दै तत्काल पुनस्र्थापना गर्नुपर्ने माग गरेका थिए ।
रिटलाई विशेष प्राथमिकता दिई सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखी बुधबारका लागि अर्को पेसी तोकिएको थियो । गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध चैत १३ गते घिसिङ गैरकानुनी रूपमा आफूलाई हटाइएको भन्दै पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट रिट निवेदन दिएका थिए । यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन् ।
हिजो कुलमान र हितेन्द्रदेवको मुद्दाको सुनुवाइ लम्बिएपछि बाँकी रहेका अन्य मुद्दा हेर्न नभ्याइने र हेर्न नमिल्नेमा परेका थिए । यसअघिको इजलासले पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जबाफको माग गरेका थियो ।
घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो । अब चुडाल र पाण्डेको इजलासले नै अब अन्तरिम आदेश हुने÷नहुने निर्णय गर्नेछ ।