२६ चैत , काठमाण्डौ।
कुलमान घिसिङलाई हटाएर आफैले रोजेको पात्रलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख बनाएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का पुलकित भएका छन् । कुलमान प्राधिकरणमा हुँदासम्म अब फेरि लोडसेडिंग हुने ठोकुवा गरेका उनी अहिले हितेन्द्र आएपछि भने उर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताउन थालेका छन् ।
साथै उनले नयाँ प्रवन्ध निर्देशकको प्रशंसामा लामै पुल बाँधिरहेका छन् । आज पनि एक कार्यक्रममा उर्जामन्त्रीले शाक्य एसियाकै उत्कृष्ट इन्जिनियर रहेको भन्दै प्रशंसा गरेका छन्। यस्तै उनले अब देशले उर्जाविकासमा थप उचाईमा पुग्ने पनि बताएका छन् ।
सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै उनले १० वर्षभित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले कामहरु अघि बढाइरहेको बताए । दुई ठूला छिमेकी देशहरुसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको उर्जा क्षेत्रको विकास गर्ने खड्काले बताए ।
पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै मन्त्री खड्काले खुशी व्यक्त गरे । विद्युत क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महशुस गरेर सबैले लगानी बढाइरहेको उनको भनाइ छ ।
अहिले उर्जा क्षेत्रले छिमेकीहरुको बीचमा सम्बन्ध प्रगाढ बनाएको उनले बताए । १० वर्षभित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहे पनि जलस्रोतको भरपूर प्रयोग गर्न नेपालले चाहेको बताए ।
‘उर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने विश्वासका साथ अहिले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राख्दै गर्दा हाम्रा छिमेकी मित्रहरु चीन, भारत जस्ता देशहरुले दुई ठूला मुलुकहरु हुन्, आर्थिक हिसावले सम्पन्न मुलुकहरुले हामीलाई पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु ।
हामी सँगसँगै यहाँहरुसँग हिँड्न चाहन्छौँ,’ उनले भने, ‘ दुई वटा छिमेकी मुलुकहरु भन्दा पर नबसिकन कदममा कदम मिलाएर हिँड्न नेपाल चाहन्छ । १० वर्ष पहिला यस क्षेत्रमा धेरै लगानी गर्न इच्छुक नहुने परिस्थित थियो । वित्तीय क्षेत्रहरु पनि आँट गरेर अघि बढ्न नसकेको स्थिति थियो ।
१० वर्ष यता अत्यन्त ठूलो शाहसका साथ यस क्षेत्रको विकासले मात्रै आर्थिक समृद्धि आउँछ भन्ने कुरा सबैले महशुस गरेर ठूला लगानी यस क्षेत्रमा आउन थालेका छन् । छिमेकी राष्ट्रहरुको पनि सहयोग मिल्न थालेको छ, यो गर्वको विषय हो ।’
मन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने बताए । विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भए पनि प्रचुर मात्रामा सुधार गर्नसक्ने ठाउँहरु रहेको उनको भनाइ छ । एशियाकै उत्कृष्ट दक्ष इन्जिनियर विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै उनले हितेन्द्र देव शाक्यको प्रशंसा गरे ।
आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिइ शाक्यले जलविद्युत क्षेत्रको विकास गर्ने मन्त्री खड्काको विश्वास छ । उर्जामन्त्री र प्राधिकरण प्रमुखबीच यस प्रकारको ट्युनिंग मिलिरहँदा यसैबीच ऊर्जाविज्ञ प्रवल अधिकारीले भने पदबाट राजीनामा दिएका छन् ।
अधिकारीले मंगलबार आफ्नो पदबाट राजीनामाका दिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञका रूपमा नियुक्त भएका अधिकारीले ऊर्जामन्त्री दीपक खड्काको कार्यको चित्त नबुझेको भन्दै राजीनामा दिएको मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणबाट उपकार्यकारी निर्देशक अवकाश भएका अधिकारी भदौदेखि मन्त्रालयको ऊर्जा विज्ञको रूपमा कार्यरत थिए । मन्त्रालय विशिष्ट श्रेणीको पद सिर्जना गर्दै उनलाई ऊर्जाविज्ञमा नियुक्ति दिएको थियो ।
उनले कुलमानको बर्खास्ती पछि आफ्नो पालो आउने विश्वास लिएका थिए । उर्जामन्त्रीबाट पनि सोही बमोजिमको आश्वासन पाएका थिए । तर उनका आशा निराशामा बदलिएपछि अन्ततः पदबाट राजीनामा दिएका हुन् ।
यता कुलमान घिसिङलाई गरिएको बर्खास्तीविरुद्ध भने अझै पनि आन्दोलन जारी छ । नागरिक समाजका अगुवा डा. गणेश योञ्जनको नेतृत्वमा कुलमान बर्खास्तीविरुद्धको आन्दोलन भइरहेको छ । उनीहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका थिए ।
आन्दोलनका थप कार्यक्रमबारे यसै साता पत्रकार सम्मेलन गरेर जानकारी दिने उनीहरूको तयारी छ । राजनीतिक प्रतिशोधमा ११ चैतमा सरकारले कुलमानलाई बर्खास्ती गरेपछि समर्थक आन्दोलनमा उत्रेका हुन् ।