२३ वैशाख , काठमाण्डौ ।
आज पनि देशका विभिन्न ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । विहानदेखि झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सिन्धुली र महोत्तरी आसपासका केही ठाउँमा चट्याङसहित वर्षा भएको छ ।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जनसहित वर्षा भएको छ । यो पानी पर्ने प्रणाली उत्तरपूर्वतिर सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमपूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशैभर वर्षाको सम्भावना रहेको छ । नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
मधेश प्रदेशको तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अरू सबै प्रदेशको पहाडी भागका केही ठाउँ तथा बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका हिमाली भू–भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ । कोसी, मधेस र बागमती प्रदेशका केही जिल्लामा अहिले पनि मेघ गर्जन र चट्याङसहित पानी परिरहेको छ ।
गएराति काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । कोशी प्रदेशका केही ठाउँमा पनि हिजो साँझदेखि नै हावाहुरी, मेघगर्जनसहित वर्षा भएको छ ।
आज पनि धेरै जिल्लामा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।