आज असार १५,४ प्रदेशमा भारी वर्षा, बाढी र पहिरोबाट बच्न अपिल

१४ असार ८२, आइतबार

१५ असार , काठमाण्डौ ।

Advertisement

आज असार १५ तथा धान दिवस मानो खाएर मुरी उब्जाउने समयका रुपमा प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । एकातिर किसानहरू आकाशे पानीको भरमा रोपाइँको चटारोमा छन् भने, अर्कोतिर यही वर्षा विनाशकारी बन्न सक्ने चेतावनी आएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका १२ जिल्लामा आज र भोलि भारी वर्षा हुने र त्यसले बाढीपहिरो जस्ता विपद्को उच्च जोखिम निम्त्याउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Advertisement

प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ ।

Advertisement

अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले देशभर बदली रहेको र कतिपय स्थानमा वर्षा भइरहेको जनाइएको छ । असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

साथै अन्य प्रदेशको पहाडी भागका एकदुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अर्काेतर्फ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने पनि सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ।

यस्तै जिल्लाका हिसाबले भने आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।

यसैले ती जिल्लाका खोला÷नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। साथै आज पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।

अतः ती जिल्लाका खोला÷नदीका तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ। उल्लिखित २९ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेको छ। र पहेँलो लगाइएका जिल्लाका लागि ५ क्षेत्र तोक्दै सतर्कता अपनाउन चेतावनी दिइएको छ।

महाशाखाले पहाडी तथा चुरे क्षेत्रका भिरालि तथा पहिरोग्रस्त क्षेत्रका बस्तीहरू, नदी किनार तथा खोला आसपासका बस्तीहरू, मुख्य तथा सहायक सडक यातायात ,जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना र कृषि क्षेत्र तथा सिँचाइ प्रणालीमा सर्तकता अपनाउन आग्रह गरेको छ ।

यसैबीच प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ।
यस्तै असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताए ।

कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top