विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने
 १६ असार ,काठमाडौ ।
शनिबार सक्रिय राजनीतिमा फर्कने सार्वजनिक घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब सरकारले पूर्वराष्ट्रपतिको हैसियतले दिएका सबै सेवासुविधा पनि फिर्ता गर्ने भएकी छन् ।
सम्भवतः पूर्वराष्ट्रपति भण्डारीले आगामी साउन १ देखि आफूले पूर्वराष्ट्रपतिको हैसियतले पाउँदै आएका सेवासुविधा फिर्ता गर्ने बताइएको छ । सरकारले उनका दुई स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा दिने गरेको छ ।
उनको इन्धन खर्च पनि सरकारले व्यहोर्दै आएको छ । उनले आगामी साउन १ देखि यी सबै सेवासुविधा फिर्ता गर्ने निर्णय गरेको बुझिएको छ । पूर्वराष्ट्रपति भण्डारी बुढानीलकण्ठस्थित आफ्नै घरमा बस्छिन् भने उनको आफ्नै सवारी साधन प्रयोग गर्दै आएकी छन् ।
उनले घरभाडा र सवारी साधन नलिएको पनि उनको सचिवालय स्रोतले जानकारी दिएको छ । असार १४ गते एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीमा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणाले एमाले र समग्र राजनीतिमै तरंग उत्पन्न गरेको छ । यो घोषणासंगै एमालेमा कित्ताकाटको अवस्था पनि देखिन थालेको छ ।
भण्डारीको घोषणासँगै नेताहरूले निकटता देखाउने संकेत गर्न थालेका छन् । अध्यक्ष केपी ओली समूह र विद्या भण्डारी समूहको कित्तामा रहेको छनक पदाधिकारीहरूले १४ असारको कार्यक्रममै दिएका छन् ।
१९ जनाको पदाधिकारी रहेको एमालेमा को कता लाग्छन् भन्ने चासो देखिएको छ । अहिलेसम्म विद्या भण्डारी समूहमा पदाधिकारी नौ जना खुलेका छन् ।
केपी ओली समूहमा ७ खुलेका छन् भने दुई जना दुवै समूहमा खुलिसकेका छैनन् । सचिव टोपबहादुर रायमाझी निलम्बनमा छन् । विद्या भण्डारी समूहको नेतृत्व भने अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने देखिएको छ ।
यो समूहमा पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि भण्डारीलाई साथ दिने सम्भावना छ । यी तिनै जना नेता एमालेभित्र ओली लाइनमा नेता होइनन् ।
एमाले विभाजित हुँदा माधव नेपालसँग जान रोकिएका उनीहरू अहिले पनि ओलीका कतिपय निर्णयको विपक्षमा रहने गरेका छन् । एमालेको विधानमा भएको ७० वर्षे उमेर र दुई कार्यकालको बाध्यात्मक व्यवस्थाको पक्षमा उनीहरू छन् ।
त्यसैले, उनीहरूको साथ ओलीभन्दा भण्डारीको पक्षमा हुने आकलन गरिएको छ । त्यसैगरी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि रहने सम्भावना छ ।
गुरुङलाई मन्त्री बनाएको पनि भण्डारीकै कोटाबाट भन्ने पहिला पनि चर्चा भइरहेको थियो । त्यसो त, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र रघुविर महासेठलाई पनि भण्डारीनिकट भनेर चर्चा गरिएको छ ।
यद्यपि, भट्टराई अहिले संस्थापन लाइनमा देखिन्छन् भने विश्वकर्मा मौन बसिरहेका छन् । विष्टले पनि आफ्नो धार प्रस्ट पारेका छैनन् । महासेठलाई भने पहिला ओलीनिकट मानिएको थियो ।
खासमा महासेठ वामदेव गौतमनिकट नेता हुन् । गौतमले झलनाथ खनाल समूह छोडेर ओलीको कित्ता लिनुअघि नै महासेठले गौतमलाई छोडेको एमाले नेताहरू बताउँछन् ।
अहिले केपी ओली समूहमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल भने खुलेर देखिएका छन् ।
महासचिव पोखरेलले काठमाडौंमा भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषण गर्दै गर्दा पोखरामा पुगेर आलोचना गरिरहेका थिए । त्यसो त, महासचिव पोखरेलले केही दिनअघिको एमाले सचिवालय बैठकमा भण्डारीलाई रोक्न पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किने विधानबाटै रोक लगाउनुपर्ने प्रस्ताव नै उठाएका थिए ।
सचिव पद्मा अर्याललाई पनि ओलीनिकट सचिवकै रूपमा हेरिएको छ । उपाध्यक्ष विष्णु पौडेल र सचिव लेखराज भट्ट मौन देखिएका छन्। हुन त, पौडेललाई केही समय अघि विद्या भण्डारीनिकट भनेर चर्चा गरिएको थियो ।
तर, अर्थमन्त्री भएपछि पौडेल मौन रहँदै आएका छन् । अर्याललाई पनि पहिला भण्डारीकै समूहमा लिने गरिए पनि अहिले उनी ओली लाइनमा देखिएकी छन् ।
विद्याभण्डारीले एमालेमा सक्रिय राजनीति सुरु गर्ने घोषणासँगै एमाले भित्रै को कता भन्ने  चासो र विश्लेषण भइरहेको प्रति  पार्टी उपाध्यक्ष्य अष्टलक्ष्मी शाक्यले भने असन्तुष्टि जनाएकी छन् ।
उनले पार्टीको महाधिवेशनबाट पार्टीको नेतृत्व बनाउने प्रक्रिया एमालेको विधानमा  रहेको उल्लेख गर्दै  सामाजिक संजालमा लेखेकी छन्, महाधिवेशन आउनअझै धेरै समय बाँकी छ।
तर आज यो वा ऊनेता को नाम जोडेर पदाधिकारीहरूलाई विभाजित गरेको फोटो देख्दा मलाई अचम्म लाग्यो र दुख पनि लाग्यो । यसरी गलत  सूचना दिने छुट कसैलाई पनि छैन ।सम्बन्धित निकायलाई सचेत गराउन चाहन्छु ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.