आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’

३० असार ८२, मंगलबार

३१ असार , काठमाण्डौं ।

Advertisement

आज दिउँसो र राति पनि सबै प्रदेशमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै ठाउँहरुमा हावाहुरीसमेत चल्न सक्नेछ ।

Advertisement

गएराति पनि देशका धेरै ठाउँमा रातभर पानी परेको थियो । गएराति ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुलीको सिन्धुलीमाडी, पर्वतको पञ्चासे, अर्घाखाँची लगायतका वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको थियो ।

आज विहान भने काठमाडौं उपत्यकासहित केही ठाउँमा हल्का मात्रै वर्षा भएको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको नजिक सरेको छ ।

Advertisement

यसको प्रभावले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा अघिल्लो दिनको तुलनामा बढी पानी पर्ने पूर्वानुमान छ । सुक्खा खडेरीको मारमा परेको मधेश प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज राति मधेश प्रदेशका पूर्वी भूभागमा र भोलि राति पूरै मधेश प्रदेशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । मनसुनको अवधिमा समेत मधेश प्रदेशका जिल्लामा लामो समयदेखि पानी नपर्दा सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

पानी नपर्दा अधिकांश खेतमा धान रोपाइँ हुन सकेको छैन । रोपाइँ गरेका खेत पनि पानी अभावले चिरा परेका छन् । खानेपानीका मुहान समेत सुक्न थालेपछि मधेशमा पानीको हाहाकार छ ।

आज र भोलिको वर्षाले खडेरीमा हल्का राहत मिल्नसक्ने सम्भावना छ । यद्यपि कतिसम्म पानी पर्छ भनेर अहिले नै अनुमान गर्न भने गाह्रो रहेको मौसमविदहरु बताउँछन् ।

यस्तै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

जिल्लाका हिसाबले आज काठमाडौँसहित देशका ४२ जिल्लाका खोला÷नदीमा बाढी आउने र जोखिम निम्तिने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।

साथै इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ ।

बाढी महाशाखाले ४२ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राख्दै सतर्कता अपनाउन सुझाव दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top