३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

३१ असार , काठमाण्डौं ।

Advertisement

क्रोएसियाका कप्तान लुका मोड्रिच फ्रि ट्रान्सफरमा एसी मिलानमा आबद्ध भएका छन् । रियल म्याड्रिडमा १३ वर्ष बिताएका उनी अहिले मिलानमा पुगेका हुन् ।

३९ वर्षीय मिडफिल्डरले इटालियन क्लबसँग सन् २०२६ को जुनसम्मको सम्झौतामा हस्ताक्षर गरेका छन् । एक वर्ष थप गर्ने विकल्प पनि मिलानसँग हुनेछ ।

Advertisement

अमेरिकामा भएको क्लब विश्वकपपछि रियल छाड्ने मोड्रिचले मे महिनामा घोषणा गरेका थिए । सम्झौतापछि मोड्रिचले भने,’ खेलजीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा निकै खुसी छु।’

दोस्रो कार्यकालका लागि मिलानको प्रशिक्षक बनेका मासिमिलियानो आलेग्रीले यस महिनाको सुरुवातमा क्रोएसियाका कप्तान क्लबमा आउने पुष्टि गर्दै उनलाई ‘असाधारण खेलाडी’ भन्दै प्रशंसा गरेका थिए ।

Advertisement

२०१८ मा बालोन ड’ओर जितेका मोड्रिचले २०१२ मा टोटनह्यामबाट रियल पुगेपछि क्लबबाट २८ उपाधि जितेका थिए । जसमा ६ युरोपियन कप, ६ क्लब विश्वकप, ५ युरोपियन सुपर कप, ४ ला लिगा, २ कोपा डेल रे र ५ स्पेनिस सुपर कप छन् ।

उनी रियलको इतिहासमै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन् । रियलका लागि ५ सय ९७ खेलमा उनले ४३ गोल गरेका थिए । उनको अन्तिम खेल गत हप्ता क्लब विश्वकपको सेमिफाइनलमा पेरिस सेन्ट–जर्मेनविरुद्ध ४–० को हार थियो ।

मोड्रिच अर्को वर्ष क्यानडा, मेक्सिको र अमेरिका संयुक्त रुपमा आयोजना गर्ने विश्वकप खेल्न इच्छुक छन् । यससंगै मोड्रिचले युरोपेली फुटबलको सात पटकको च्याम्पियन एसी मिलानलाई पुनः गौरवको बाटोमा डो¥याउने जिम्मेवारी लिएका हुन् ।

पछिल्लो केही वर्षमा निकै निराशाजनक प्रदर्शन गरेको मिलानका लागि उनी ठूलो आशा बनेको छ । उनले यसअघि १३ वर्षसम्म रियल मड्रिडमा अत्यन्तै सफल यात्रा बिताएका थिए ।

मोड्रिच सानैदेखि एसी मिलानको समर्थक हुन् । उनका आदर्श र ९० को दशकमा क्रोएसियन महान् खेलाडी ज्भोनिमिर बोबनले यही क्लबबाट खेलेका थिए ।

मिलान गत सिजन सिरी एमा आठौं स्थानमा सीमित रहँदा कुनै पनि युरोपियन प्रतियोगितामा स्थान बनाउन सकेन । त्यसपछि क्लबले संकटको सामना गरिरहेको बेला मासिमिलियानो अलेग्रीलाई पुनः प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो ।

उनले सन् २०११ मा मिलानलाई सिरी ए उपाधि दिलाएका थिए । त्यसपछि युभेन्ट्सलाई पाँच सिजन लगातार च्याम्पियन बनाए । अलेग्रीले मोड्रिचको अवस्थाबारे जान्न कार्लो एन्सेलोटी (रियल र मिलानका पूर्व प्रशिक्षक)लाई सल्लाह मागेका थिए ।

त्यसपछि मिलानका नयाँ स्पोर्टिङ डाइरेक्टर इग्ली टारे क्रोएसियाको ट्रेनिङ क्याम्पमै पुगेर मोड्रिचसँग सम्झौता पक्का गरेका थिए ।

सम्झौता क्लब विश्वकपअघि नै पक्का भए पनि मोड्रिच संयुक्त राज्य अमेरिकामा आयोजित क्लब विश्वकप खेल्दा रियलबाट उनको अन्तिम खेल सकिएपछि मात्र मिलानमा आबद्ध हुन पाए ।

अब लुका मोड्रिच मिलानका लागि मैदानमा उत्रिने छ । अनुभवी मिडफिल्डरको आगमनले संकटग्रस्त मिलानमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top