२८ साउन , काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ । गएराति देखिनै देशका विभिन्न भागमा लगातार वर्षा भइरहेको छ ।
आज बिहानदेखि पनि सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार मधेस, बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अन्य प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ । विहान एक घन्टाको वर्षा मापन गर्दा दार्चुलाको गोकुलेश्वरमा २३.४ मिलिमिटर वर्षा भएको छ ।
बाजुराको ओलेनामा १९.८ मिलिमिटर, नुवाकोटको त्रिशूलीमा १८.४ मिलिमिटर, नवलपरासीको बर्दघाटमा ११ मिलिमिटर वर्षा भएको छ । आज देशभर पूर्णतया बदली रहनेछ ।
देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति गण्डकी, लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा पूर्णतया बदली रहनेछ ।
बाँकी भू–भागमा साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भू–भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले देशभर मनसुन सक्रिय छ । सोही कारण अहिले पनि कोशी, मधेश, बागमती प्रदेशको थोरै ठाउँमा तथा बाँकी प्रदेशको एक÷दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
गएराति झापा, उदयपुर, बाँके, डोटीलगायतका जिल्लामा ठूलो पानी परेको थियो । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आउँदो २४ घण्टामा कतै कतै अति ठूलो पानी पर्ने तर त्यो थोरै अवधि पर्ने सम्भावना छ ।
आज विहान मधेस प्रदेशको सप्तरीस्थीत रूपनी बजार र बरमझिया आसपासमा मध्यमदेखि भारी वर्षा भएको छ । लुम्बिनी प्रदेशको कपिलवस्तु र अर्घाखाँची जिल्ला आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसबीच बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब सतर्कता तहभन्दा तल छ तर बढ्ने सम्भावना छ ।
साथै आज इलाम, झापा, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको जानकारी बाढी महाशाखाले दिएको छ ।
यसैगरी आज तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, चितवन, नवलपरासी–पूर्व, रुपन्देही, कपिलवस्तु, डोल्पा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना देखिएको बाढी महाशाखाले जनाएको छ ।