विराटनगर, १८ असोज
विराटनगरमा नाम चलेका पसलहरुले खरिद मूल्य भन्दा ६ गुणा बढी मूल्य लिएर उपभोक्तालाई सामाग्री बेच्ने गरेको पाइएको छ । ग्यालेक्सी र साकेतले उपभोक्तालाई ठगीरहेको भेटिएको हो ।
चाडपर्वका समय लागेपछि अनुगमनमा निस्किएको जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले बिहीबार गरेको अनुगमनका क्रममा साकेत र ग्यालेक्सी जस्ता नाम चलेका र उपभोक्ताको भीड लाग्ने पसलमा खरिद मूल्य भन्दा ६ गुणा बढी मूल्य लिइएको पाइएको छ ।
ग्यालेक्सीले ५ सय पर्ने जुत्ता ४६ सयमा बेचेको भेटिएको छ । यस्तै साकेतले ४ सय ८२ को जिन्स पेन्टलाई १५ सय ६५मा बेचेको पाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।
साकेत र ग्यालेक्सी दुवै फिक्स मूल्यका पसल हुन् । जहाँ कस्मेटीक्सदेखि जुत्ताचपप्पल, ब्याग, कपडा लगायतका सामाग्रीहरु पाइन्छन् । यस्तै विराटनगरको १२ मा रहेको गोल्छा डेरी उद्योगले इजाजतमा दिएको भन्दा अन्य स्थानमा डेरी उद्योग संचालन गरेको भेट्टिएको छ ।