धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

१० मंसिर ८२, बुधबार

१० मंसिर, काठमाण्डौ ।

धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध विरोध प्रदर्शन गरिरहेका जेन–जीमाथि आक्रमण भएको छ । बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लैजाने क्रममा जेन–जी मार्गनजिक युवाहरूले प्रदर्शन गरिरहेका थिए ।

जेन–जीको प्रदर्शनस्थलमा मोटरसाइकल ¥याली रोकेर एमालेनिकट युवा संघका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । सो क्रममा जेन–जी अगुवा सरिता जोशीलगायत केही सामान्य घाइते भएका छन् ।

Advertisement

आज विहानैदेखि एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बस्नेतविरुद्ध धनगढी विमानस्थलमा जेनजी युवाले चर्को नाराबाजी गरेका थिए । राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन उनी धनगढी पुगेका हुन् ।

विमानस्थलमा प्रदर्शनकारीहरूले ‘गुण्डुको गुण्डाः गो ब्याक, हत्याराको चेलो, हत्यारालाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । जिल्ला समन्वय समितिको हलमा युवा संघको कार्यक्रम चलिरहँदा पनि बाहिर युवाहरूको प्रदर्शन जारी राखेका थिए ।

Advertisement

बस्नेतविरुद्ध भएको यो पहिलो घटना होइन । मंगलबार सुर्खेतको विरेन्द्रनगरमा पनि उस्तै प्रदर्शन भएको थियो । यसअघि बाराको सिमरा र मोरङको विराटनगर र सुनसरीको दुहवीमा समेत जेनजी युवाहरूले उनीविरुद्ध तीव्र नाराबाजी गरेका थिए ।

मंसिर ३ गते बाराको सिमरा विमानस्थलमा ठूलो प्रदर्शन भएको थियो, जहाँ जेनजी युवा र प्रहरीबीच झडप समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु समेत लगाएको थियो ।

मंसिर ७ गते आइतबार विराटनगरमा पनि उनीविरूद्ध प्रदर्शन भयो । विमानस्थलबाट इटहरीतर्फ जाने क्रममा जेनजी युवाले उनको गाडीमा रातो रङ छ्यापेका थिए । भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै उनले जेनजी युवाहरूलाई आतंककारी भन्ने, टिकटक र रिल बनाउनेहरूलाई कारबाही गर्ने, र सिंहदरबार जलाउनेहरू आतंककारी भएको जस्ता अभिव्यक्ति दिएका थिए ।

यस्ता अभिव्यक्ति र घटनाहरूले एमाले र जेनजी समूहहरूबीचको तनाव झन् बढाएको छ । बस्नेतका अभिव्यक्तिले आफ्नो पार्टीभित्र भने उनलाई बलियो बनाइरहेको बताइन्छ ।

यता आज पनि बस्नेतविरुद्ध धनगढीमा प्रदर्शन भएको हो । युवाहरुले नारा लगाउँदै शान्तिपूर्ण आन्दोलन गरेपनि एमालेका कार्यकर्ताहरु आफूहरुमाथि जाइलागेको उनीहरुले बताएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि शान्तिपूर्ण रूपमा जेनजीले विरोध गरेको जानकारी दिए । “जेनजी युवामार्फत शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने सूचना आएको थियो ।

त्यसपछि प्रदर्शन क्षेत्रको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ,” उनले भने । तनाव सिर्जना हुने कुनै पनि किसिमका गतिविधि नभएको पनि उनले बताए । महेश बस्नेतसहित एमालेका केही नेताहरु जेनजीहरुको विरोध प्रदर्शनमा परिरहँदा यता पार्टीको ११औं महाधिवेशन उद्घाटन पनि अब भक्तपुरको सल्लाघारीमा सरेको छ।

उद्घाटनपछि हुने बन्दसत्रलगायतका सबै कार्यक्रम भने पहिला निर्धारित भृकुटीमण्डपमा नै हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । महाधिवेशनका लागि मंसिर ७ गतेदेखि नै हरेक निर्वाचन क्षेत्र विभागमा प्रक्रिया सुरु भइसकेको हुनाले जानकारी दिए ।

यसपटकको महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंगलबार आफू अध्यक्षका लागि उम्मेदवार हुने घोषणा गरेका छन् ।

महाधिवेशन प्रतिनिधि चयनका लागि संस्थापन पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच रस्साकसी चलेको छ । जिल्ला–जिल्लामा आ–आफ्नो पक्षको महाधिवेशन प्रतिनिधि चयन गर्न नेताहरूले लबिङ सुरु गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top