सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

८ पुस ८२, बुधबार

९ पौष, विराटनगर । नेपाली कांग्रेसभित्र सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा विजय कुमार गच्छादारको विकल्प खोज्ने बहस सुरु भएको छ । बर्जु गाउँपालिका, गढी गाउँपालिका, दुहबी नगरपालिका तथा इटहरी उपमहानगरपालिकासम्म पार्टीका स्थानीय तहका युवा कार्यकर्ताले नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका हुन् ।

Advertisement

बर्जु गाउँपालिकामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा अब कहिलेसम्म पुरानै नेतृत्व ? भन्ने आवाज खुलेर उठेको छ । स्थानीय कार्यकर्ताहरूले विजय गच्छदार अहिलेको राजनीतिक परिवर्तनको संवाहक बन्न नसकेको टिप्पणी गर्दै देश गम्भीर मोडमा पुगेको अवस्थामा नयाँ सोच र नयाँ अनुहार आवश्यक भएको बताएका छन्।

युवा कार्यकर्ताहरूका अनुसार अहिले जनतासँग लैजान मिल्ने स्पष्ट एजेण्डा र प्रभावशाली ‘फेसको अभाव देखिएको छ। विशेषगरी जेनजी आन्दोलन, सामाजिक सञ्जालको प्रभाव र युवामाझ बढ्दो राजनीतिक चेतनाले परम्परागत शैलीको राजनीतिलाई चुनौती दिएको उनीहरूको भनाइ छ। युवाहरूले स्थानीय स्तरमा अवसर नपाएको गुनासो गर्दै “हामी कहिले नेतृत्वमा आउने ?” भन्ने प्रश्न पनि उठाएका छन्। यही कारण पार्टी संगठन मजबुत बनाउन नेतृत्व हस्तान्तरण अपरिहार्य भएको निष्कर्षमा धेरै कार्यकर्ता पुगेका छन्।

Advertisement

यता गच्छदारले भने आफूले सात वर्ष जेल जीवन बिताएको, कठिन परिस्थितिमा पार्टी सञ्चालन गरेको र आदिवासी, जनजाति तथा मधेशी समुदायमा आफ्नो बलियो पकड रहेको दाबी गर्दै आएका छन्। तर कार्यकर्ताहरूको धारणा फरक देखिन्छ। उनीहरू भन्छन्, बीपी को विचार सधैं प्रेरणादायी भए पनि त्यसैलाई भजाएर मात्र अब चुनाव जित्न सकिँदैन।”

स्वतन्त्र पार्टीले बलियो संगठन नभए पनि उल्लेख्य सिट जितेको उदाहरण दिँदै उनीहरूले समय अनुसार रणनीति र नेतृत्व परिवर्तन नगरे कांग्रेसले पुनः हार व्यहोर्न सक्ने चेतावनी दिएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदार फेरि चुनाव लड्ने तयारीमा जुटेका छन् । २०४८ सालयता उनले ७ पटक चुनाव लडिसकेका छन् ।

Advertisement

७१ वर्षीय गच्छदार आठौं पटक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका हुन् । उनको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ हो । संसदीय राजनीतिका चतुर खेलाडी मानिने गच्छदार २०७९ को निर्वाचनमा पहिलो पटक एमाले उम्मेदवार भगवती चौधरीसँग पराजित भएका थिए । गच्छदारले क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गराउन चाहेका थिए । तर, क्षेत्रीय समितिले गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले पूर्वउपप्रधानमन्त्री गच्छदार, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र ओम थापाको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका दुहबीका वर्तमान मेयर गच्छदार विजयकुमारको नाताले भतिज पर्छन् । विजयकुमार बालुवाटार जग्गा प्रकरणमा धरौटीमा छुटेपछि कांग्रेस राजनीतिमा निस्क्रिय जत्तिकै देखिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top