नामको होइन कामको बनोस् रवि–बालेन–कुलमानबीचको एकता

१५ पुस , काठमाण्डौ ।

पुराना दलहरुले समयको माग र जनताको चाहानाअनुसार काम गरेनन्, बरु सत्तामा हालीमुहाली र लुछाचुँडी गरेरै आफनो युवावस्था र बुढौली विताउने मात्रै काम गरे । त्यसैले अब देशलाई अगाडि बढाउन यीनीहरुबाट हुँदैन, नयाँ सोच नयाँ भिजन, जोशजाँगर भएका नयाँ अनुहार, युवाहरु राजनीतिमा आउनुपर्छ ।

अब पार्टी र राज्य सत्तामा पनि नयाँहरुले केही गर्नुपर्छ । नयाँहरु मिल्नुपर्छ । वैकल्पिक राजनीतिलाई अगाडि बढाउनु पर्छ भन्ने आवाज उठेको पनि धेरै भएको थियो । उज्वल थापाले विवेकशीलको नाममा रोपेको त्यो विउले धेरै हाँगाविगा, लहरा, बोटविरुवाहरु बढ्दै पनि गएका थिए ।

तर कुनै पनि छहारी दिने, फल दिने गरिको ठूलो, बलियो हुन सकिरहेका थिएनन् । त्यसपछि गत स्थानीय तहको चुनावबाट बालेन्द्र साह, हर्क साम्पाङ, गोपी हमालहरुको उदय भयो । जो एक्लो, स्वतन्त्रका रुपमा त थिए, तर उनीहरुको पछाडि असंगठित समर्थकहरुको ठुलो भीड थियो ।

जसले उनीहरुलाई चुनावमात्रै जिताइदिएनन्,उनीहरुका लागि एउटा संस्था, एउटा दल, एउटा ठूलो बलका रुपमा पनि विस्तार हुँदै गए । त्यो बललाई कसैले सामाजिक संजालमा प्रयोग गरे, कसैले श्रमदानमा ।

उनीहरुको एक आह्वानमा विशेषगरी युवाहरुको ठुलो समूह जहाँ भन्यो त्यही निस्किनेसम्मको स्थिति बन्यो । त्यही शक्ति आज दलका रुपमा समेत स्थापित भएको छ । अर्कातर्फ रवि लामिछानेको टेलिभिजन स्क्रिनदेखिको क्रेज पार्टी खोल्दा र गत संघिय निर्वाचन जुनरुपमा देखियो, त्यसयता त्यो बढ्दै गएको छ ।

अर्थात नयाँहरुलाई जनताले खुबै मन पराएका छन् । विश्वास गरेका छन् । यीनबाट केही हुन्छ भन्ने निकै आश गरेका छन् । त्यसैले त विशेषगरी भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि यी सबै नयाँहरुलाई एक ठाउँमा आउन जनस्तरदेखि नै दबाब बढ्यो ।

जेनजी युवाहरुले अहिले सबैभन्दा बढी विश्वास गर्ने र सम्भवतः एकमात्रलाई स्वीकार गरेको दल बन्न पुगेको छ रास्वपा । तर त्यो हिजोको मात्रै जस्तो होइन, आजको जस्तो, अर्थात बालेन साह, कुलमान घिसिङ, विवेकशील साझा पनि मिसिएको, जेनजी युवाहरुलाई समेटेको, हरेक क्षेत्रमा ख्याती कमाएका, आफूलाई प्रमाणित गरेका, देशका लागि केही गर्छु भन्नेहरुलाई समेटेको रास्वपालाई नवयुवाहरुले मन पराएका छन् ।

होला यसमा पनि केही कमीकमजोरी होलान्, सर्वगुण सम्पन्न त नहोला । त्यसमाथि रवि लामिछाने स्वयं अहिले पनि कानूनी परीक्षणमा छन् । तर सबैतिर नराम्रै नराम्रोबाट छान्नुपर्ने स्थिति हुँदा अहिलेको रास्वपा पहिलो र अन्तिम विकल्प बन्न पुगेको छ ।

हुन त यसबीच फागुन २१ को चुनावको मिति घोषणा भएपछि कयौं नयाँ दलहरु खुलेका छन् । कयौं मर्ज भएका छन् । तर तीनमा केही पुरानै अनुहार र नयाँमा पनि खासै प्रभाव पार्ने देखिएका छैनन् । कम्तिमा पनि अहिलेसम्म उनीहरुको चुनावी पफर्मेन्स देखिएको छैन ।

त्यसो हुँदा नयाँ, पुराना सबै भर्सेस रास्वपाको स्थिति बनेको छ । यसकारण पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अब जनताको चाहानामा ठेस पुर्याउने, चोट लगाउने काम गर्नु हुँदैन । यसअघि पनि पार्टी एकता नभएका होइनन् ।

एमाले र माओवादीबीचको एकतालाई पनि धेरैले रुचाएका थिए, विशेषगरि वाम एकता चाहानेहरुले । एउटै ठुलो कम्युनिष्ट पार्टी बन्यो, अब स्थिर सरकार हुन्छ, देशले गति र लय दुवै समाउँछ । चीन र रुस जस्तै नेपालले पनि विकास र आर्थिक फड्को मार्छ भन्ने सोचिएकै थियो ।

नेताहरुले पनि रेल, पानीजहाजदेखि सिंगापुर, स्वीजरल्याण्डसम्मको सपना बाँडेकै थिए । तर उनीहरुकै इगो र सत्तालिप्साका कारण सबै टुट्यो । न सरकार स्थिर बन्यो, न विकास, सुशासन मिल्यो । न त ठूलो, बलियो, सिंगो कम्युनिष्ट पार्टी नै ।

बरु सिसा फुटेजस्तै गरि कयौं टुक्र टुक्रामा विभाजित हुन पुगे । यो तितो अनुभव नेपालीहरुले भोगिसकेका छन् । त्यो रिपिट होला कि भन्ने पनि डर छ । अब यो डर रवि, बालेन, कुलमानहरुले मेटाउनु पर्छ ।

जनता, विशेषगरी नवयुवाहरुको चाहानाबमोजिम नै यो एकता भएको छ, यसलाई कुनै पनि हालतमा खेर जान दिन हुँदैन । अन्यथा, पार्टीमात्रै होइन, यतिका वर्ष लगाएर बनाएको उनीहरुको छवि पनि धुमिल हुनजान्छ, बेइमान ठहरिने छ ।

अहिलेसम्म हेर्दा रविको कमाण्ड, बालेनको अठोट र कुलमानको काम गरेरै प्रमाणित गर्ने छविले उनीहरुलाई उचाईमा पुर्याएको छ । अब सानोतिनो गल्ती गरे भनेपनि तल झर्न बेर लाग्दैन ।

किनभने अब उनीहरु एउटा पालिकाको, एउटा प्राधिकरणको वा एउटा पार्टीमात्रै पनि होइन, सिंगो देशको नेतृत्व गर्ने सम्भावनामा छन् । बालेन आगामी चुनावबाट प्रधानमन्त्री बन्ने गरि रास्वपामा आएका छन् ।

कुलमानको पनि चाहाना उस्तै छ, शक्तिशाली भएर देशका लागि काम गर्ने । रास्वपा रविको नेतृत्वमा छ । पार्टीलाई सबैभन्दा ठूलो, पहिलो पार्टी बनाउनेदेखि आगामी सरकार बनाउँने र देशलाई बस्न लायक, विदेश पुगेकाहरुलाई पनि फर्किउँ फर्किउँ लाग्ने बनाउने अभिभारा उनको काँधमा छन् ।

उनले कयौं पटक भनिसकेका छन् कि हामी विदेशमा पुगेका सबै नेपालीहरुलाई फर्किने वातावरण बनाउँने छौं । र यो तबमात्र सम्भव छ जब देशमा रोजगारी, शिक्षा, स्वास्थ, समृद्ध सबै हुन्छ ।

यहीबीचमा हिजो एकता गर्दा उनीहरुबीच भएको सहमतिलाई पनि एक पटक हेरौं । सोमबार रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङबीच सातबुँदे सहमति भएको छ ।

सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकीकरण हुने भएको हो । पहिलो पक्ष र दोस्रो पक्षबीच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झण्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति पनि नेतात्रयबीच भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति पनि उनीहरूबीच भएको छ ।

उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरू सँग जोड्दै, एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने सहमति पनि उनीहरूबीच भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने सहमति पनि उनीहरूबीच भएको छ ।

जेनजी अभियन्ता सुदन गुरुङको पहलमा रास्वपा नेता असीम शाहको कमलपोखरीस्थित घरमा तीन नेताहरुबीच सहमति भएको हो ।  सहमतिको पूर्ण पाठमा लेखिएको छः मुलुकको परिवर्तित राजनीतिक घटनाक्रमले सिर्जना गरेको विशिष्ट परिस्थितिलाई हृदयंगम गरी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तन कामी राजनीतिक शक्तिहरूबीच सहकार्य गर्दै नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै, २०८२ साल भदौ २३ र २४ को जेन–जी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्र सेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र उज्यालो नेपाल पार्टी (दोस्रो पक्ष) बीच देहायका सहमति भएको छ।

१. नवयुवाहरू (जेनजी) ले भ्रष्टाचार र सुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,

२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणालीको स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोस्रो पक्षबिच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झण्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल, र स्वर्णिम वाग्ले रहने,

५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरू सँग जोड्दै, एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने।

यसमा हस्ताक्षरहरु भनेर रवि लामिछाने सभापति, अनुपकुमार उपाध्याय अध्यक्ष र बालेन शाह साक्षी का रुपमा लेखिएको छ ।

यसअघि बालेन र रविबीच भएको सहमतिमा भने सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै, २०८२ साल भदौ २३ र २४ को जेन–जी आन्दोलन लगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरुका शहीद एवं घाइतेहरुको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै समान अठोट बोकेका शक्तिहरूको सहकार्य मार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र श्री बालेन्द्र शाह (दोश्रो पक्ष) बीच देहायका सहमति भएको छ भनेर लेखिएको छ ।

सात बुँदामा भएको सहमतिमाः

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी“, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ’घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने भन्ने छ ।

अब नयाँ कुरा नगरेपनि कम्तीमा यी सहमतिहरुलाई अक्षरस पालना गरिदिने हो भने पनि नवयुवा र आमजनताको परिवर्तन हेर्ने चाहाना पुरा हुने थियो । देशले भ्रष्टाचार र कुसाशनबाट मुक्ति पाउने थियो ।

तर पुरानाले जस्तै सत्तामा गएपछि मात्तिने, एकले अर्कालाई रोक्ने, इगोलाई बीचमा ल्याउने र मेरै गोरुको बारै टक्का गर्ने हो भने त खरानी घसेको जोगीभन्दा फरक हुनेछैन । अहिले नै पनि रास्पपाका पुराना जो छन्, नयाँ जो थपिएका छन् सबै कुनै न कुनै स्तरमा प्रभावशाली नै छन् ।

अहिले त झन् एकसे एक सेलिब्रेटीसमेत भित्र्याइएको छ । त्यसमाथि रवि, बालेन, कुलमान आफैमा ठूलो नाम हो, ब्राण्ड बनिसकेका छन् । यिनीहरुमा नामको, ब्राण्डकै टसल पनि पर्न सक्छ । त्यसमाथि विभिन्न खाले आरोप र आशंकाहरु पनि गरिएका छन् ।

यो शक्ति कतैबाट परिचालित गरिएको त होइन् ? यसले कतै देशलाई अर्को युक्रेन त बनाउँदैन । नेपाल सिक्किम त बन्दैन । बाहिरी शक्तिहरुले नेपालमा खेलिरहेका त छैनन् । जेलेन्स्की, लुसिफर, पर्दामा देखिएका मात्र पात्र, जस्ता अनेक आरोप लागिरहेको छ ।

देशको सार्वभौमिकता, अखण्डता, संविधान, गणतन्त्र, संघियता संकटमा त पर्ने होइन भन्ने पनि एकथरीको चिन्ता छ । यी सबै चिन्ता र आशंकालाई अब बालेन, रवि, कुलमानहरुले हटाउँदै जानुपर्छ ।

आफूप्रतिको विश्वास बढाउँदै, देश पनि परिवर्तन हुन्छ है, हामीले गर्छौ है भन्दै जनताको पनि विश्वास बढाउनु पर्छ । फेरि आआफ्नो काम गर्ने, सोच्ने, बोल्ने शैली छ । यसले पनि टकराव बढाउन सक्छ ।

त्यसैले अब नेताहरुले साच्चिकै देशका लागि राजनीतिमा आएको, सक्रिय भएको हो भने पहिला आफैलाई सच्याउँदै लैजानु पर्छ । आफ्ना कमी, कमजोरीलाई कम गर्दै सामूहिकतामा अभ्यस्त हुनुपर्छ ।

सबैको सोचमा, काम गराईमा, हेराईमा, बोलाईमा पनि देश हुनुपर्छ, जनता हुनुपर्छ । नयाँ नेताहरुको यो मिलन इतिहासमा पनि सधैं नयाँ बनिनुपर्छ, यो नै पहिलो र अन्तिम बनिनुपर्छ ।

अब देश बनिनुपर्छ । अब फेरि सडकमा कसैको रगत नबगोस् । कहिल्यै सिंहदरबार जस्ता धरोहरु नजलुन् । एयरपोर्टमा जानेभन्दा आउनेहरुको भीड धेरैहोस् । अब देश सधैंभरि हासेरै बाँचोस् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top