२६ चैत , काठमाण्डौ।
२०८१ मा तत्कालीन गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा सबैको पहुँचका लागि खुकुलो बनाए। आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै लामिछानेले भनेका थिए, ‘अब पहुँचवाला मात्र होइन, सबै नागरिकलाई सिंहदरबार खुला भएको छ। सिंहदरबारमा अब सबै नागरिकको समान पहुँच भएको छ।’
‘स्मार्ट गेट पास’ लिएर सिंहदरबारभित्र प्रवेश गर्न सक्ने व्यवस्था मन्त्रालय गर्ने उपप्रधान तथा गृहमन्त्री उनै थिए। अनलाइनबाटै गेटपास लिएर सर्वसाधारण सिंहदरबारभित्र प्रवेश गर्न सक्ने व्यवस्था गरिएको थियो। उनकै पहलमा भेट्नुपर्ने व्यक्ति र कारण खुलाएमा मन्त्रालयहरूले अनलाइनबाटै मोबाइलमा इ गेटपास पठाउने र त्यही आधारमा सिंहदरबार प्रवेश गर्न पाइने व्यवस्था भयो।
सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने भन्दै रविले आफ्नो मान्छे सिंहदरबारमा भए मात्रै प्रवेश पाउने पाउने अवस्था अब अन्त्य भएको उद्घोष गरेका थिए। उनी भन्थे, ’सिंहदरबार छिर्न अब कसैलाई चिन्नुपर्दैन। चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छेभित्र भएर मात्रै फोन गरिदिएर भित्र छिर्ने पाउने अवस्थाको अन्त्य भयो।’
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश खुकुलो बनाउने तत्कालीन गृहमन्त्री रवि नेतृत्वको दल रास्वपाले अहिले सरकार चलाइरहेको छ। सरकारको नेतृत्व वरिष्ठ नेता बालेन शाहले गरेका छन्। सबै मन्त्रालयको नेतृत्व रास्वपाकै नेताहरूले गरेका छन्।
१८२ सिटको प्रचण्ड बहुमत भएकाले बालेन सरकारलाई शक्तिशाली सरकार भनिन्छ । तर, यही शक्तिको आडमा सरकारले कहिलेकाहीं आफूखुसी निर्णय पनि गरिदिन्छ। जसको जनस्तरमै आलोचना पनि भइरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो, सिंहदरबार प्रवेशमा कडाइ।
दोस्रो जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। त्यही विन्दुबाट सिंहदरबार गणतन्त्रको प्रतीक बन्यो। त्यसमा पनि आम नागरिकको प्रतीक सिंहदरबारलाई मान्न थालियो।
आम नागरिकलाई सिंहदरबार प्रवेशमा सहज बनाउँदै लगियो। तर मंगलबार नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने व्यवस्था हटाइएको छ। यसलाई कानुन व्यवसायीहरुले सिंहदरबार प्रवेशमा रोक लगाउने कार्यको प्रारम्भ भएको टिप्पणी गरेका छन्।
तत्कालीन सभामुख सुवास नम्वाङको पहलमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कानुन व्यवसायी परिचयपत्रको आधारमा सिंहदरबार प्रवेश पाइने व्यवस्था मिलाइएको थियो। प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानून व्यवसायीको हकमा नागरिक एपको सिंहदरवार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने जनाए। सिंहदरबारभित्र प्रशासकीय अदालत छ।
जहाँ कानुन व्यवसायीहरू वकालत गर्न पुग्ने गर्छन्। त्यसैले कानुन व्यवसायीलाई प्रवेशलाई कडाइ गरिने निर्णयप्रति सशंकित देखिएका छन्। यस्तोमा एमालेका सांसद सुहाङ नेम्वाङले कानुन व्यवसायीहरूलाई सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था मिलाउन लिखित ध्यानाकर्षण गराए।
प्रधनमन्त्रीको सचिवालयमा समेत मौखिक जानकारी गराएका उनले कुनै पनि नागरिकले आफ्नो मुद्दामा प्रतिनिधित्व गर्न वा प्रशासनिक कामका लागि कानुन व्यवसायी नियुक्त गर्न पाउने संवैधानिक अधिकार रहेको सम्झाएका छन्।
सिंहदरबारभित्र रहेका मन्त्रालय, प्रशासनिक निकाय र अदालतमा सेवाग्राहीले कानुन व्यवसायी लिएर जान पाउने कुराले न्यायमा पहुँच र प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै उनले अदालतबाट नेपाल सरकार र विभिन्न मन्त्रालयका नाममा जारी भएका आदेश वा फैसला कार्यान्वयनका लागि कानुन व्यवसायी र मन्त्रालयबीच प्रत्यक्ष सम्पर्क र सहज पहुँच आवश्यक हुने बताए।
सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ। सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ।
सिंहदरबारमा रहेको चार गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला छ। त्यसो त प्रधानमन्त्रीको सपथ लिनुअघि नै बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशका लागि अघिल्लो व्यवस्था फेरेका थिए। अहिले शुक्रबारदेखि उक्त कार्यालयको परिसरमा प्रवेश गर्न पनि अनुमति चाहिन्छ।
बालेनको सपथ ग्रहणको अघिल्लो दिन अर्थात् चैत १२ देखि नै प्रधानमन्त्रीको कार्यालयमा कसैलाई प्रवेश दिइएन। जानै परे मुख्यसचिव र सचिवको अनुमतिले मात्रै जान पाइने बनाइएको छ। सपथग्रहण पछि भने प्रधानमन्त्री कार्यालयको कम्पाण्डभित्र अनुमतिबिना प्रवेश निषेध छ।
एक कर्मचारी भन्छन्, ‘प्रधानमन्त्रीले पदबहाली गरेसँगै यस कार्यालयको कम्पाउन्डको गेटबाट भित्र सोझै प्रवेश पाइनेछैन। प्रधानमन्त्रीको सचिवालयको अनुमतिपछि मात्रै आउन पाइनेछ।’ विभिन्न मिडिया रिपोर्टहरूका अनुसार बालेनले सबै प्रकारका प्रशासनिक तथा औपचारिक काम सिंहदरबारबाटै सञ्चालन गरिरहेका छन्।
बालुवाटारलाई औपचारिक गतिविधिबाट अलग राख्दै सिंहदरबारलाई केन्द्र बनाउँदै काम गरिरहेका उनले प्राय कसैलाई भेटिरहेका छैनन्। ’बालुवाटारमा औपचारिक भेटघाट हुँदैन, बिहानै सिंहदरबार पुगेर त्यहीँबाट भेटघाट र सबै काम गर्नुहुन्छ,’ बालेनको सचिवालय स्रोतले भन्यो।
सर्वसाधारण मात्र हैन, अहिले प्रधानमन्त्री कार्यालयमा मिडियाकर्मीलाई पनि रोक लगाइएको छ। दुई दिनअघि पत्रकार प्रजु पन्तले कार्यालय गेट अगाडी ’सुरक्षाकर्मीले मिडियालाई जान नदिनु भनेको छ’ भनेर रोकेको बताएकी थिइन्। उनले लेखेकी थिइन् ’यदि लोकतान्त्रिक सरकार हो भने प्रधानमन्त्रीले बेलाबेला प्रेस मिट गरुन् प्रक्रिया पुराएर पत्रकारलाई निर्वाध रूपमा रिपोर्टिङ गर्न दिइयोस्।’
२०५५ सालदेखि सिंहदरबारको आन्तरिक सुरक्षा सिंहदरबार सुरक्षा प्रहरीगणले हेर्दै आएको छ । त्यहाँ प्रवेशका लागि १९ किसिमका गेट पासको व्यवस्था गरिएको हुन्छ । सामान्तया सुरक्षाकर्मीले प्रवेश पास वा परिचय मात्र हेरेर भित्र जान दिने वा नदिने गर्दै आएका छन् ।

