६ वैशाख,काठमाण्डौ।
विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को भारतप्रति रवैया ठीक नरहेको टिप्पणी गरेका छन् । आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतिको दृष्टिको ठिक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताए ।

उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी हुन नहुने सुझाव दिएका छन् । उनले बालेनको आकर्षण हिन्दूत्वप्रति हुनुपर्ने सुझाव दिए । उनले बालेन अहिले युवा रहेको र राजनीतिमा परिपक्व नभएको बताए । साथै उनले स्व.राजा विरेन्द्रकोे बेलामा जस्तो नेपाल र भारतबीच हुने गरेका परम्पराहरु पुनः स्थापित गर्न सके अझ राम्रो हुने धारणा राखे ।

धर्मगुरु रामभद्रार्चायले नेपालमा धर्मान्तर हुने गरेको गुनासो गरे । उनले विगतमा धर्मान्तर गराउनेहरुको संख्यामा वृद्धि हुनु दुःखद रहेको बताए । उनले राजसंस्था फेरि आउनुपर्नेमा समेत जोड दिएका छन् । उनले नेपाल र भारत मिलेर एउटा महाशक्ति बन्नुपर्ने बताए ।

रामभद्राचार्यले नेपाल सरकारले चाहे हिन्दूराष्ट्रय पुनः कायम गर्न कुनै समय नलाग्ने जानकारी दिए । त्यस्तै, उनले नेपाल समृद्ध होस र कुनै देशमा निर्भर नहोस भन्ने कामना गरेका छन् । उनले खासगरी चीनसँग नेपाल कुनै किसिमले निर्भर नहुने पर्ने धारणा राखे ।

स्वामी रामभद्राचार्य भारतका एक प्रख्यात हिन्दू धार्मिक गुरु, संस्कृत विद्वान, लेखक र वक्ता हुन्। उनको जन्म सन् १९५० मा उत्तर प्रदेशको जौनपुर जिल्लामा भएको हो। बाल्यकालमै दृष्टिविहीन भए पनि उनले अद्भुत स्मरणशक्ति र अध्ययन क्षमताका कारण वेद, पुराण, रामायण र संस्कृत साहित्यमा गहिरो दखल हासिल गरेका छन्।

उनी जगद्गुरु रामभद्राचार्य अपाङगता विश्वविद्यालयका संस्थापक पनि हुन्, जुन अपाङ्गता भएका व्यक्तिहरूका लागि समर्पित विश्वविद्यालय हो। रामभद्राचार्य विशेष गरी रामचरित्र मानस, वेद र अन्य हिन्दू धर्मग्रन्थहरूको व्याख्याकारका रूपमा चिनिन्छन्।

उनले सयौं धार्मिक प्रवचन, पुस्तकहरू लेखेका छन्। उनी जगद्गुरु उपाधिबाट सम्मानित छन्, जुन हिन्दू धार्मिक परम्परामा उच्च स्थानको संकेत मानिन्छ। उनका केही अभिव्यक्तिहरू समय–समयमा विवादमा पनि आएका छन्। विशेषतः अयोध्यास्थित राममन्दिर विवादमा उनले खुलेर राम मन्दिरको पक्षमा बयान दिएका थिए र ऐतिहासिक–धार्मिक प्रमाण प्रस्तुत गर्ने प्रयास गरेका थिए।

उनी राममन्दिर निर्माण आन्दोलनका प्रतिक मानिन्छन् । त्यस्तै, धर्म, जाति र सामाजिक संरचनासम्बन्धी उनका केही भनाइहरू आलोचना र बहसको विषय बनेका छन्। कतिपयले उनलाई परम्परावादी र कडा धार्मिक दृष्टिकोण राख्ने व्यक्तित्वका रूपमा चित्रण गर्छन्। उनी बीजेपी र आरएसएस समर्थक मानिन्छन् ।

आजीवन ब्रम्चारी रहेका रामभद्राचार्यले भाषामा भजन गाएका छन् । भारतमा उनको प्रभाव मुख्यतः धार्मिक र सांस्कृतिक क्षेत्रमा देखिन्छ। उनले हिन्दू धर्मका अनुयायीहरूबीच ठूलो समर्थन पाएका छन्, विशेष गरी रामभक्ति परम्परामा उनको दख्खल छ । उनका प्रवचनहरूमा हजारौं मानिस सहभागी हुन्छन् र सामाजिक सञ्जाल तथा टेलिभिजनमार्फत पनि उनको पहुँच व्यापक छ।
साथै, उनले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा र सशक्तीकरणका लागि गरेको कामको पनि प्रशंसा गरिन्छ। धर्म गुरु रामभद्राचार्य प्रत्येक वर्ष एक पटक जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउने गर्छन । यहाँ आउँदा आफ्नो सम्धीको घर आएको महशुस हुने गरेको उनले बताएका छन् ।

यस वर्षको जानकी मन्दिर दर्शनका क्रममा भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री बालेनका विषयमा उनले गरेको टिप्पणीलाई महत्वका साथ हेरिएको छ । विगतमा पनि बीजेपी, आरएसएस लगायतका नेता र अधिकारीहरुले नेपालले धर्मनिरपेक्षताका विषयमा पुर्नरविचार गर्नुपर्ने भन्दै हिन्दुराष्ट्रको वकालत गर्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि कट्टर हिन्दुवादी नेता मानिन्छन् । रामभद्राचार्य समर्थक रहेको राष्ट्रिय स्वयमसेवक संघ आरएसएस भारतको एक प्रमुख सामाजिक–सांस्कृतिक संगठन हो । यसको मुख्य उद्देश्य हिन्दू समाजलाई संगठित गर्ने, राष्ट्रियता (राष्ट्रवाद) प्रवद्र्धन गर्ने र सांस्कृतिक मूल्यहरूको संरक्षण गर्ने हो।

आरएसएस स्वयंलाई गैर–राजनीतिक संगठन भन्छ, तर यसको विचारधारा हिन्दुत्वसँग गहिरो रूपमा जोडिएको छ। औपचारिक रूपमा आरएसएस सरकारको भाग होइन। तर यसको वैचारिक प्रभाव भारतको सत्तारूढ दल भाजपामा स्पष्ट रूपमा देखिन्छ। भाजपाका धेरै शीर्ष नेताहरू स्वयम भारतीय प्रधानमन्त्री मोदी समेत आरएसएस पृष्ठभूमिबाट आएका हुन्।


