आजको मौसम अपडेटः ४ प्रदेशमा भारी वर्षा, बझाङमा भूकम्प

५ साउन ८३, बुधबार

६ साउन , काठमाण्डौ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले आज देशभर नै वर्षा हुने र विभिन्न ४ प्रदेशमा भने भारी वर्षा हुने पूर्वानुमान छ । पछिल्लो २४ घण्टामा मात्रै विपद्का ६६ वटा घटना घटेका छन् । मौसमको आजको पूर्वानुमान र विपद्जन्य घटनाको खबरका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागमा आंशिक बादल लागेको छ ।

Advertisement

बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

Advertisement

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । मङ्गलबारसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल बर्षा १०, चट्याङ र जनावर आक्रमणका एक÷एक र भूकम्पका दुई वटा घटना भएका छन् । विपद्का कारण रु १० लाख ७४ हजार ५०० बराबरको क्षति भएको छ । सात स्थानमा सडक अवरोध भएको थियो ।

वर्षाको मौसममा देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । बाढी पहिरो जान सक्ने जोखिमयुक्त स्थानमा नजान, मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न प्राधिकरणले सबैलाई ध्यानाकर्षण गराएको छ ।

यस्तै बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान ४ः४० बजे स्थानीय मापन अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको कोटदेवल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पबाट मानवीय र भौतिक क्षति नभएको प्रहरीले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top