९ साउन , काठमाण्डौ ।
यतिबेला नेपालका पहाडी र हिमाली जिल्लाहरूमा मनसुन सक्रिय छ । जसका कारणले गर्दा एक दर्जनभन्दा बढी महत्वपूर्ण राजमार्गहरू यतिबेला बाढी र पहिरोको चपेटामा परेका छन् । कतै नदीले सडक नै निलिदिएको छ भने कतै माथिबाट खसेको पहिरोले पहाड नै सडकमा थुपारिदिएको छ । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएको खबरका साथ हामी नेपाल टाइम्स अनलाइन टेलिभिजनमा उपस्थित भएका छौं ।
सबैभन्दा पहिले कुरा गरौँ काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने लाइफलाइन – बीपी राजमार्गको । सिन्धुली–खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढी र पहिरोको उच्च जोखिम देखिएको छ । प्रहरीका अनुसार, बीपी राजमार्गमा रातिको समयमा सवारी साधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ ।

अहिलेको नियम अनुसार, बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र यो सडकखण्डमा सवारी चलाउन पाइनेछ । बेलुका ६ बजेपछि सडक बन्द गरिएको छ । किनकि रातिको समयमा रोडा–ढुङ्गा खसेको देखिँदैन र उद्धार कार्य गर्न पनि असम्भव प्रायः हुन्छ । यसैगरी, काठमाडौँ छिर्ने वैकल्पिक मार्ग कान्ति लोकपथको अवस्था पनि उस्तै छ ।
मकवानपुर खण्डमा पर्ने यो सडकमा वर्षाका कारण राति यात्रा गर्न निकै असुरक्षित मानिएको छ । यहाँ बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । अर्को सूचना नआएसम्म यो नियम लागू रहनेछ ।
अब लागौँ पूर्वी नेपालतर्फ । मेची राजमार्ग, जसले इलाम, पाँचथर र ताप्लेजुङलाई तराईसँग जोड्छ ।
इलाम नगरपालिका वडा नम्बर ९ को राजदुवालीमा सडक यति धेरै हिलो भएको छ कि साना गाडी मात्र होइन, ठूला ट्रकहरू पनि भासिएका छन् । बाटो पूर्ण रूपमा अवरुद्ध छ । राजमार्गमा हिलो हुनु भनेको पहिरो जानु जत्तिकै खतरनाक हो, किनकि सवारी साधनको नियन्त्रण गुम्ने उच्च सम्भावना रहन्छ ।
त्यस्तै, चीनसँगको व्यापारिक नाका जोड्ने अरनिको राजमार्गमा पनि ठूलो अवरोध देखिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडकमा माथिबाट ढुङ्गा, माटो र लेदो खसेको छ । प्रहरीका अनुसार यो सडक पूर्ण रूपमा अवरुद्ध छ । व्यापारिक सामान बोकेका कन्टेनरहरू बीच बाटोमै रोकिएका छन् ।
लेदो पन्छाउन वर्षा नरोकिएसम्म गाह्रो भइरहेको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरमा पनि पहिरोको वितण्डा छ । बागलुङको जैमिनी नगरपालिका–८, बेलबगरमा सडकमाथिबाट पहाड नै खसेपछि कालीगण्डकी करिडोर ठप्प भएको छ । यो सडक खण्डमा पहिरो पन्छाउन केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।
अर्कोतिर, दोलखाको अवस्था झनै चिन्ताजनक छ । तामाकोशी गाउँपालिका–५ किर्नेटारमा रहेको लामासाँगु–रामेछाप राजमार्ग खण्डमा तामाकोशी नदीको बहाव बढेर सडक नै कटान गरिदिएको छ । सडकको आधा भाग नदीले बगाइसकेको छ, जसका कारण यो बाटो पूर्ण रूपमा अवरुद्ध छ ।
नदी किनारका सडकहरूमा यात्रा गर्दा पानीको सतह कति छ भन्ने जानकारी लिनु अहिले अनिवार्य भएको छ । रसुवा जिल्ला, जहाँ दुईवटा मुख्य सडकहरू बाढी र पहिरोको चपेटामा परेका छन् । पहिलो, प्रसिद्ध पासाङ ल्हामु राजमार्गको कुलुङ खण्ड । यहाँ माथिबाट खसेको पहिरोले सडक पुरिएको छ ।
दोस्रो, त्रिशूली–मैलुङ–स्याफ्रुबेशी कच्ची सडकखण्ड । यहाँ त्रिशूली नदीको बाढीले सडक नै कटान गरेपछि आवतजावत ठप्प भएको छ । रसुवा मात्र होइन, कर्णालीको मुगुमा पनि स्थिति उस्तै छ । छायानाथ रारा नगरपालिका–७ पिना खोला नजिकै नाग्म–गमगडी सडकखण्डमा लगातार ढुङ्गासहितको पहिरो झरिरहेको छ ।
प्रहरीका अनुसार यहाँ पहिरो झर्ने क्रम नरोकिएकाले बाटो सफा गर्न सकिएको छैन । मुगु जाने र त्यहाँबाट बाहिरिने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । यस्तै देशका मुख्य नदीहरूमा जलसतह सामान्य अवस्थामा रहे पनि केही पहाडी तथा हिमाली जिल्लाका स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ। हाल यी नदीहरूमा जलसतह सामान्य अवस्थामा छ । शनिबार कोशी प्रदेशका सम्पूर्ण पहाडी तथा हिमाली जिल्लाहरूमा आकस्मिक बाढीको न्यून जोखिम रहेको छ ।
यसैगरी बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवा जिल्लाहरूमा पनि आकस्मिक बाढीको न्यून सम्भावना रहेको छ। गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ र आसपासका जिल्लाहरू भई बहने स–साना नदीहरूमा समेत आकस्मिक बाढी आउन सक्ने महाशाखाको अनुमान छ ।
भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने सम्भावना छ। ती प्रदेशका केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव बढ्नुका साथै केही नदीमा आकस्मिक बहाव हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाले र प्रहरीले पनि वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ । प्रकृतिमाथि हाम्रो नियन्त्रण हुँदैन, तर सावधानी अपनाएर हामी सम्भावित जोखिमलाई कम गर्न सक्छौँ ।




