काठमाडौं । ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता–२०८३’ का लागि कथा आह्वान गरिएको छ। बाह्रखरी मिडियाले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयाेजना गरी प्रतियोगिताको आठौँ संस्करण घोषणा गर्दै असोज ३ गतेभित्र कथा पठाउन आह्वान गरेको हो। विश्वभर रहेका नेपाली भाषाका कथाकारले प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
प्रतियोगितामा उत्कृष्ट तीन कथालाई क्रमशः २ लाख, १ लाख र ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। अन्तिम चरणमा छनोट हुने २५ कथामध्ये उत्कृष्ट तीनबाहेकका २२ कथाकारलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिनेछ।प्रतियोगितामा १ हजार ५०० देखि ४ हजार शब्दसम्मको मौलिक, अप्रकाशित र अप्रसारित कथा पठाउनुपर्नेछ। कथा [email protected] मा इमेलमार्फत पठाउनुपर्नेछ।
यस वर्षको निर्णायक समूहमा कथाकार भुवन ढुंगानाको संयोजकत्वमा डा. ज्ञानु अधिकारी र खगेन्द्र लामिछाने सदस्य छन्।


