१० भदौ , काठमाण्डौ ।
तिब्बतबाट आएको भोटेकोशी नदीको भिषण बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै तत्काल सतर्कता अपनाउन बाढी सतर्कता केन्द्रले जनाएको छ । बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित त्यस क्षेत्रका करिडोर सडक बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ ।
बाढीले रसुवा र नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । यो क्षतिको सघन असर मुग्लिङसम्म पर्ने जनाएको छ । त्रिसुली नदी जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसबीच भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्याएको छ । डिएसपी अशोक थापाले गत वर्षको भन्दा कम्तीमा १० गुणा ठूलो विनाशकारी बाढी आएको बताएका छन् । उनले जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरेका छन् ।
जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरु बगाएको उनले बताएका छन् । तटीय क्षेत्रमा रहेका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सम्पर्कमा आएका छैनन् । यसैबीच रसुवा भोटेकोशी नदीमा आइरहेको बाढीको सम्बन्धमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो । भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ । चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठुलो बाढी प्रवेश गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले पनि आग्रह गरेको छ ।
रसुवामा ठूलो बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । गृह मन्त्रालयले सूचना जारी गरी भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेको हो । गृहले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन भनेको हो ।
खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नु पनि गृहले अनुरोध गरेको छ । पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक, मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउन समेत गृहमन्त्री सुधन गुरूङले आग्रह गरेका छन् ।
दर्शकबृन्द, लेन्दे खोला (भोटेकोसी)मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारीले जानकारी दिएका छन । ‘दुईवटा बजार तहसनहस भएको छ,’ अधिकारीले भने, ‘टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ।
रसुवा भन्सार क्षेत्रमा ठूलो सङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बाढीमा बगेका छन्।’ अधिकारीले बाढीले बजार र भन्सार पुरै बगाएको बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ ।
यसबीच रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीका कारण उद्धारका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । उद्धारका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टर उडिसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । त्रिशुली र धुन्चेमा रहेको नेपाली सेनाको बेस पनि बाढीले क्षतिग्रस्त स्थानतर्फ जाँदै गरेको उनले बताए ।
आवश्यक उपचारको लागि सेनाकै मेडिकल टिम पनि त्रिशुली अस्पतालमा रहने गरी जानेक्रममा रहेको उनले बताए । ‘अहिले ठूलो बाढी आएको भन्ने छ। तर क्षति विवरण भन्न सकिने अवस्था छैन। त्यसकारण तलतिरको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध छ,’ उनले भनेका छन ।




