विराटनगर, असोज२७
विराटनगरमा इको चाइल्ड फ्रेण्ड्ली पार्क सञ्चालनमा आएको छ । वीरेन्द्रसभा गृह छेउमा रहेको पार्क अब सर्वसाधरणका लागि खुला गरिएको छ ।
२०६९ साल साउन ३ गतेबाट विरेन्द्रसभा गृहस“गै रहेको खाली जग्गामा निर्माण सुरु गरिएको पार्क शुक्रबारबाट सर्बसाधरणका लागि खुला गरिएको हो ।
करिब पाँच बर्ष लगाएर निर्माण गरिएको पार्क विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका हुन । इको चाइल्ड फे्रन्डली पार्क निर्माणका लागि १ करोड ८४ लाख ७ हजार ७ सय ४६ रुपैयाँ खर्च भएको छ ।
पार्कलाई बालमैत्री बनाउन अझै संरचना थप गर्न बाँकी रहेको छ । विराटनगर महानगरपालिका र मोरङ ब्यापार संघ बीच सार्बजनिक निजी साझेदारी (पिपिपि) मोडलमा पार्क निर्माण सम्झौता भएको थियो ।
निर्माणमा महानगरले ८५ प्रतिशत र निर्माणको जिम्मेवारी लिएको मोरङ व्यापार संघले १५ प्रतिशत लगानी गरेको महानगरका इन्जिनियर अनिल सिंहले जानकारी दिए ।
उनका अनुसार उद्घाटन पछि मोरङ व्यापार संघले बालमैत्री संरचना थप गर्नेछ । पार्क व्यवस्थापनका लागि न्यून शुल्क लगाएर सर्वसाधारणलाई प्रवेश दिने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जानकारी दिए ।